हामीले कहीं त्यागको कुरा गर्नु पर्यो भने दधीचिको नाम लिन्छौं । दधीचिले के त्यस्तो महान त्याग गरेका थिए, किन गर्नु परेको थियो र कस्को लागि गर्नु परेको थियो त्यो त्यागसम्म आउँदा के के घटना घटेका थिए र त्यो त्यागले कसलाई फाइदा गर्यो भन्ने कुराको ज्ञान हामीमा हुनै पर्दछ ।
उहिले पौराणिक कालमा त्वष्टा नामका आदित्य देवता थिए । उनले असुरकुलकी कन्या विवाह गरेका थिए । यिनैबाट विश्वरुप नाम गरेका पुत्रको जन्म भएको थियो । विश्वरुपका तीनवटा शिर थिए । यी तीनवटा शिरका तीनवटा मुख पनि थिए । विश्वरूपाले एउटा मुखबाट सोमलताबाट तयार पारिएको रस (सोमरस), एक मुखबाट सुरा पिउथे र तेस्रो मुखबाट भने अन्न ग्रहण गर्दथे ।