आमाको सपना
ओहो ! बिहानको आठ बजिसकेछ । उसको आँखा भित्तामा झुण्ड्याएको घडीमा पर्न जान्छ । बिहान सबेरै निन्द्रादेवीले न्यानो अङ्गालोबाट छोडे पनि आज सहनशीलालाई ओछ्यानमा गुडुल्किरहन मात्र मनलाग्छ । किनकी आज उसको बिदाको दिन । शरीरमा कुनै जोश-जाँगरनै छैन । मन त्यसै-त्यसै हावामा बहकिरहेको छ । उखरमाउलो गर्मीले गर्दा उसको शरीरले थकानको महसूस मात्र गरिरहेछ । बिदाको दिन बाहेक १६ घण्टा मेशिनझैं काममा पेलिनु पर्छ । कामले थाकेर-थाकेर लखतरान भई कोठाको मायालु विश्राममा जान हतार गरिरहेका कामदार युवायुवती जस्ले पाएको हण्डरलाई सोचेर भावुक बन्छे सहनशीला । आफ्नी आमाको न्यानो काखलाई लत्याएर आएका ती कामदारहरूप्रतिको सोचाइले गर्दा भनौं या आफ्नी आमाको सम्झनाले भरिएका अतीतका स्मरणले गर्दा हो , आज ऊ आमाप्रति आफूले नाजायज गरेँकी भन्ने भाववोधले छटपटाइरहेकी छ ।
