Skip to content

टीका खरेल सुवेदी

आमाको सपना

ओहो ! बिहानको आठ बजिसकेछ । उसको आँखा भित्तामा झुण्ड्याएको घडीमा पर्न जान्छ । बिहान सबेरै निन्द्रादेवीले न्यानो अङ्गालोबाट छोडे पनि आज सहनशीलालाई ओछ्यानमा गुडुल्किरहन मात्र मनलाग्छ । किनकी आज उसको बिदाको दिन । शरीरमा कुनै जोश-जाँगरनै छैन । मन त्यसै-त्यसै हावामा बहकिरहेको छ । उखरमाउलो गर्मीले गर्दा उसको शरीरले थकानको महसूस मात्र गरिरहेछ । बिदाको दिन बाहेक १६ घण्टा मेशिनझैं काममा पेलिनु पर्छ । कामले थाकेर-थाकेर लखतरान भई कोठाको मायालु विश्राममा जान हतार गरिरहेका कामदार युवायुवती जस्ले पाएको हण्डरलाई सोचेर भावुक बन्छे सहनशीला । आफ्नी आमाको न्यानो काखलाई लत्याएर आएका ती कामदारहरूप्रतिको सोचाइले गर्दा भनौं या आफ्नी आमाको सम्झनाले भरिएका अतीतका स्मरणले गर्दा हो , आज ऊ आमाप्रति आफूले नाजायज गरेँकी भन्ने भाववोधले छटपटाइरहेकी छ ।

नियतिको खेल

१६, १७ वर्षो कलकलाउँदो उमेर गाउँमा जसोतसो १० कक्षामा पढ्दै गरेको किशोर शहर पस्न वाध्य हुन्छ । उसलाई पनि आफ्ना साथीभाइ जस्तै राम्रो शिक्षा लिएर असल नागरिकको परिचय दिने रहर त नभएको कहाँ हो र ! भाग्यको खेल भनौं या नियतिको ! उसको बाबुको ५ वर्षभयो आजसम्म अत्तोपत्तो छैन । हुन त बाबु घरमै हुँदा पनि उसले चाल पाउँदादेखिनै दिनरात आमासँगको झगडा उसले देखेको थियो । नहुनु भन्दा कानो मामानै बेस भनेझैं जँड्याहा नै भए पनि उसलाई आफ्नो बाबुको ठूलो भरोसा थियो । घरमा खानलाई भनेर उसकी आमाले जोहो गरेर राखेको अन्नपात बेचेरै भए पनि किशोरलाई उसको बाबुले फिल्म हेराउन लगेको अनि मिठाइ पसलमा लगेर मिठाइ किनिदिएर घर पठाएको याद अझै ऊसँग ताजै छ । बेलुकी खुट्टा लर्वराउँदै आएर आमालाई लात हान्न कस्सिएको बुबाको कमिज तान्दै हात जोडेर त्यसो नगर्न अनुनय गरेको पनि कहाँ बिर्सेको छ र किशोरले ।