संझिन्छ्यौ कि बिर्स्यौ प्रिया
ऐसेलु र काफल खा‘को संझिन्छ्यौ कि बिर्स्यौ प्रिया
कटुस खोज्न वनमा धा‘को संझिन्छ्यौ कि बिर्स्यौ प्रिया
तिम्रो लागि गुरास टिप्न भिरको त्यो रुखमा जॉदा
झन्डै मेरो ज्यान नगा‘को संझिन्छ्यौ कि बिर्स्यौ प्रिया
वनकॉडाको लहराले चोली तिम्रो अल्झाइदिंदा
फुत्काउन धौ धौ भा‘को संझिन्छ्यौ कि बिर्स्यौ प्रिया
आकाशबाट बर्षिएको झरी छेल्न ओत बसी
भिज्दै भिज्दै दिन बिता‘को संझिन्छ्यौ कि बिर्स्यौ प्रिया
उबेलाका तिम्रा मेरा अझै कति कति कथा
दुनियाले चाल नपा‘को संझिन्छ्यौ कि बिर्स्यौ प्रिया ।
