Skip to content

दीपक वाग्ले

तिम्रो लोग्ने र म

पर क्षितिजसँगै फैलिएको खाडीको त्यो उजाड मरुभूमि र त्यही मरुभूमिभित्र जीवन मृत्युको दोसाधमा बाँच्न खोज्ने कयौ परदेशी जीवनहरू हरेक साँझ सामुद्रिक तटमा रहेको त्यो अञ्जान बस्तीमा भेला भई यौटा छुट्टै मेहफिल जमाउने प्रयत्न गर्दथे। शुरुवाती मौनताहरू कथा, कविता, गीत र गजलहरूसँगै भङ्ग हुँदै जान्थे। जिन्दगीका अधुरा सपनाहरू र ती सपनाहरुको गन्तव्यतिर निष्प्राण भएर भौतारिदै हिड्ने म जस्तै अनगिन्ती परदेशीहरू आफ्ना रङ्गिबिरङ्गी कल्पनाहरुलाई कल्पनामै सीमित राखेर अन्धकार रातहरूसँगै सुस्ताउने गर्दथे। मानौ सूर्य र त्यसभित्रको असह्य ताप सदाको लागि अस्ताएर बिलिन होस्।

त्रिशूलीसँगै बगेका सपना

कहिलेकाहीँ लाग्छ, यो जीवन पनि यौटा सपना भइदिएको भए वा सपनाहरू सपना नबन्दै टुटेर गएको भए । तर अफसोच जिन्दगी यौटा विपनामा परिणत भएर कहिल्यै निको नहुने गहिरो घाउ बनेर बल्झिरह्यो । जब बिहानीको किरणहरूसँगै ताराहरू जस्तै सपनाहरू पनि टुटेर गए तबदेखि जिन्दगी नै बोझ लाग्न थाल्यो । सही के हो थाहा थिएन । केवल यति थाहा थियो, अब कसैको यादहरूको भ्रममा बाँच्नु, यादहरूको पर्खाइमा बाँच्नु गलत हो । मनमा चोटहरूको पहाड बोकेर एकपल पनि जिउनु यति कठिन भइदिन्छ तर मानिसहरू सयौँ जुनी जिउने भ्रम किन राख्छन् ।