शव्दहरूमा केही नबोली मूक आँखाले नै
धेरै कुराहरू बोल्ने ती एक जोडी विचित्रका आँखाहरू
यदाकदा मेरा सपनीहरूमा आउने गर्छन्
लज्जा र सङ्कोचले गर्दा कानमै सुटुक्क साउती गर्न खोजेझैं
ती एक जोर आँखाहरू होशियारका साथ दायाँ वायाँ हेर्ने गर्छन्
अर्को जन्ममा विश्वास गर्छ्यौं कि गर्दिनौं
यदि गर्छ्यौं भने
तिमी आमा बनेर आउनू
एउटी स्नेहकी प्रतिमूर्ति आमा बनेर आउनू
जसको न्यानो काखमा
म हरपल लडिबूडी खेलेर
आफ्नो अपार प्रेमको
निश्चिन्त रूपमा अभिव्यक्त गर्न सकूँ।
धेरै भयो प्रिय
फूलको बखान हामीले सुन्ने गरेको
अब त काँढाको पनि कुरा गरौं
कति जीवनमा योजना र सपनाको मात्र कुरा गर्ने?
धेरै जोखिम भैसक्यो प्रेम
आउँ एकै छिन प्रेम बीमाको कुरा गरौं।