‘‘पास भयौ भने उतै बसेर पढ्न आउनु है नानी,” गएको दशैमा घर आउदा अंकलले भनेका यी वाक्य कोपिलाले झट्ट सम्झी। उसको मुहारमा पास हुनुको खुसीभन्दा पीडा देखिन्थ्यो । पहिलो श्रेणीमै एसएलसी उतिर्ण गरेकी उसले अब कसरी क्याम्पस पढ्ने, पढ्ने कि नपढ्ने जस्ता अनुत्तरित प्रश्नले दिनहुँ सताउथ्यो । ऊ एक्लै घोत्लिन्थी, रातभर यही कुराले बिताउँथी । मनमा उठेका एक पछि अरु प्रश्नले ऊ अवाक बनेकी थिई । एक मनले भन्छ – उतै अंकलकै कोठामा बसेर पढ्नु । लगत्तै अर्को मनले भन्छ- शहरमा कहाँ अरुको कोठामा सधैं पाहुना हुन भयो र ? मन बरालिरह्यो । घरको दयनीयता र शहरमा अंकल सिवाय अरु नहुनुले उसको अब पढ्ने इच्छा लगभग मरिसक्यो । समय न हो, यो खोला सरी बगिरहन्छ, झरना सरी झरिरहन्छ । न कसैले रोक्न सक्छ न त छेक्न नै । तर खाने मुखलाई जुँगाले कहाँ छेक्छ र ? आफ्नो साथीहरू सबै शहर गईसकेको र आफ्नो अझै दोधारपन भएकाले घरमा सल्लाह गरी । अन्ततः अंकलकै कोठामा बस्ने निधोका साथ उज्ज्वल भविष्यका इच्छा, चाहना अनि मनभरिको पीडा वोकेर ऊ धूवाँमय शहर पसी ।