Skip to content

arunmonline

धेरै दिन भयो अब नेपाल टेक्न मन छ

धेरै दिन भयो अब नेपाल टेक्न मन छ
घर आँगनमा गई सारङ्गी रेट्न मन छ

बिरानो यो देश पराई भूमिको कुरै छोडौ
सबै कुरा भुलेर तिमीलाई भेट्न मन छ

यहाँको खाना सम्झे आमाको याद आउने
जाडो याममा अगेनामा रोटी सेक्न मन छ

पल्लो घरे साईलीले मेरो घर फोरी अस्ती

पल्लो घरे साईलीले मेरो घर फोरी अस्ती
ए ! लाहुरे दाई, डर लाग्छ जाऊन गस्ती ।

माया लाग्यो घरमा राखे, सवै काम गर्थी
मौका छोपी लुटेर अहिले गर्दै छे रे मस्ती ।

मेरो त सर्वस्व हर्योर, केही छैन बाँकी
सम्पतीको नाऊमा बाँकी छ एउटा किस्ती ।

मेरो त अँधकार भयो, घरआँगन दाई
ऊ हेर्नुस् त झिलिमिली छ उसको बस्ती ।

अनजान मै ठोक्यो जिन्दगी खै कता कता

अनजान मै ठोक्यो जिन्दगी खै कता कता ।
थाहै नपाई रोक्यो जिन्दगी खै कता कता ।।

न त आंधी आयो न त हुरी नै चल्यो कतै
तैपनि फेरी छेक्यो जिन्दगी खै कता कता ।

माटो पानीले बनेको शरीर भन्छ सबै
धमिरै विना मक्यो जिन्दगी खै कता कता ।

माया पिरती मै निहित हुन्छ रे संसार
साहरा बिनै सक्यो जिन्दगी खै कता कता ।।