डा. राजेन्द्र विमल
ऐंजेरु
शुभ्र हिमखण्डले निर्मित बाल-प्रतिभा सेतो परेवाजस्ती, स्वच्छ जलराशिमा फुलेको श्वेतकमल जस्ती, दुग्ध-धवल स्फटिकले बनेको बाल-आकृति जस्ती, अथवा भनुँ, पावस ऋतुको अविरल वर्षामा नुहाएको कुनै हरितिमामय निभृत कानुनमा बुर्कुसी मार्दै खेल्ने-रमाउने सानो, सेतो खरायो जस्ती-कल्पिता ! ऊ आँगनमा आउनासाथ अकस्मात् ऋतुपरिवर्तन भएर बसन्त आएको र हजारहजार चराचुरुङ्गी चिर्बिर-चिर्बिर कलरव गर्न थालेको मधुर अनुभूतिमा म डुब्ने गर्थे । सडकमा पनि हिँड्ने होइन, उफ्रिदै जाने । झोला बोकेका केटीहरूको बथानमा डब्बा बनाई आफू इन्जिन बनी रेलजस्तै दौड्दै दिनहुँ स्कुल गइरहेकी कल्पितालाई झल्झली सम्झन्छु म -“………पी-पी-पी-पी… छुक्छुक् छुक्छुक् … ।”
