Skip to content

मित्र पाठक

ज…द.. (लघुकथा )

बाटोमा पुरानो साइकल डोराउदै हिड्दै थिए अचानक राति कारको टि-टिट हर्नले झस्किएँ । गाडी तर्फ फर्केर हेरें मलेसियामा सँगै काम गरेको साथी आफैं कार चलाएर हिंडेको । उसलाई देख्नासाथ मैले भनिहालें – “मलेसिया जान छाडेर यहीं कार चलाउन थालेको ?”

उसले अल्लि अफ्ठ्यारो मान्दै भन्यो- “हैन आफ्नै हो । ”

मैले थपेँ- “तेरो जोक गर्ने पुरानो बानी अझै उस्तै छ है..।”

उसले मलाई विश्वास दिलाउन सकेन । र, “ल ल फेरि भेटेर कुरा गरौंला” भन्दै अगाडी बढ्यो ।

सुरुदेखिनै हाम्रो कुरा सुनिराखेको एउटा मान्छे मेरो नजिकै आयो र भन्यो- “उसले ठिकै भन्यो त । त्यो कार उसको आफ्नै हो । अहिले त ऊ यो एरियाको चिनिएको ज.. ..द हो त ! कार चढ्नु के ठुलो कुरा भो र! उसले त करोड कमाई सक्यो ।”

भाषण र व्यवहार (लघुकथा)

समाजमा भलाद्मी र समाजसेवी गनिएको उसले आजपनि चोक बजारमा सबैका सामू चर्को चर्को भाषण दियो – “छोरा र छोरी दुइमा केहि फरक छैन । छोरीले पनि छोराले बराबर गरेर देखाउन सक्छन, यदि अवसर पाए भने ।”

यति भन्दा नभन्दै उसले झल्लक सम्झियो उसलाई आज अलि हतार थियो । २-४ दिन भित्रै उसको दोस्रो बिहे हुन लागेको थियो । त्यो पनि छोरो पाउने श्रीमतीको साथमा । उसले आफ्नो कुरा टुंग्यायो र मनमनै सोच्दै अगाडी बढ्यो – “छन त छोरा र छोरी दुइमा केहि फरक छैन तर……..।”

गणतन्त्र (लघुकथा)

फाटेको टोपी कस्नेदेखि सुट-बुट र टाईले घाँटी कस्ने सबैका मुखमा ठूलो चर्चा पाएको थियो आन्दोलनले, लोकतन्त्रले अनि गणतन्त्रले पनि । दाउरा चिरे सरि टाउको फुटेको झल्झली देखेको गाउँले राजु जो भर्खर १० बर्सको हुँदो हो, उसले पनि मच्ची मच्चीइ गफ छुट्थ्यो हजुरआमा सामु नयाँ संरचनाको बारेमा ।

यस्तैमा एकदिन हजुरआमा उसकै लागि मकै भुट्दै थिइन् । ऊ नजिकै गयो र भन्यो-हजुरआमा तपाइलाई थाहा छ लोकतन्त्र आयो रे …गणतन्त्र पनि आयो रे । दिनरात मेलापात,घाँस-दाउरा र ढिकी जातोमा जोतीइरहने ती राजनीतिको ‘र’ नबुझ्ने सत्तरी बर्सिय बुढियालाई जो सुकै आएपनि के नै लछारपाटो लाउथे र..! अनि के थाहा त्यस्ता कुरा ?

मेरो राजधानी ( लघुकथा )

सीमा नै थिएन ममा खुसीको । किनकि धेरै बर्षको मेरो सपना पूरा भएको थियो ।

भर्खर रातिको ८ बज्दै थियो । मलाई भने आफूलाई नै समाल्न गार्हो भै राखेको थियो । मनमा तछाड मछाड तरङ्गहरू यु.के.को जीवनशैली कस्तो होला भनेर घमासान लडिरहेका थिए । मेरो आडैको सिटमा बस्ने महिला साथीको आवाज आएर म झस्किएँ- “तपाई कहाँबाट, काठमाडौँबाट हो ?”

म दङ्ग परें । अनि मुसुक्क हासेर भनें -“कसरी थाहा पाउनु भो, हो म काठमाडौँबाटै हो ।”

उनले झटारो फालिन् ” तपाईंले मुखले नभने पनि तपाइको शरीरको गन्धले नै भनिहाल्छ नि, तपाई काठमाडौँ को हो भनेर ।”

इस् खा आजको राशीफल (लघुकथा)


पत्रिका हातमा लिएर नाँच्नु नाँच्यो ऊ तर ननाँचोस् पनि कसरी? उसको आजको राशीमा लेखिएको थियो-प्रेममा सफलता, आर्थिक लाभ, मिष्ठान्न भोजन, स्त्री जतिको बिशेष सहयोग आदि इत्यादि । तर पत्रिका पढिसकेर साथीहरूलाई देखाउन भर्यांङ्को सिढी झर्दै गर्दा अचानक ऊ चिप्लिएर लड्यो र अनायासै बेहोस् भयो ।

परिवारका अन्य सदस्य हरूले उसलाई हस्पिटल पुर्याए । उसको एउटा हात अनि एउटा खुट्टा भाँचिएको रहेछ । बेलुका हात खुट्टा प्लास्टरपछि ऊ घर फर्कियो र पलंगमा निराशाताकासाथ पल्टियो। केही पर उही बिहानको पत्रिका देखेर रिसले चुर हुदै लतारिदै पत्रिका नजिकै पुग्यो र त्यही पलास्टर गरिएको हातले थिचेर अर्को हातको सहायताले पत्रिका झुरा झुरा पार्दै आफैले आफैलाई लोप्पा खुवाउदै भन्यो- “इस् खा आजको राशीफल”

झन्डावाला गाडी र ज्योतिषी (लघुकथा)

झन्डै आधि घण्टा बिताए होला सायद मैले ती सबैले बरिष्ठ मानेका ज्योतिषीसँग । उनले पनि बडा गर्वका साथ भने – “बाबु आज सम्म हेरेका हातहरूमध्ये अनौठो लग्यो यो हात मलाई …..म टिकेर भन्छु – तिमी झन्डा फहराएको गाडीमा हिड्नेछौ ।”

नाकका फोरा फुलाउँदै १०० को नोठ ज्योतिषी बाबाको हातमा हालिदिदै घरतर्फ लागेको थिएँ म आज भन्दा ३ वर्ष अगाडी। तर आज मेरा दौंतरीहरू कोही हाकिम भए, कोही क्याप्टेन भए त कोही डाक्टर । ..तर म जस्ताको तस्तै छु । एकान्तमा बसेर मैले सम्झे आज धेरै बेर टोलाएर उही ज्योतिषीलाई जसले मलाई झन्डा फहराएको गाडीमा हिड्नेछौ भनेका थिए।

अर्को जन्म (लघुकथा )

जीवनको एउटै सहारा आफ्ना पतिको कुनै भिडन्तमा भएको मृत्युपछि दुई-तीन वर्ष बिताइसकिन बिचार हरिमायाले, दाउराको भारी पिठ्युमा बोकेर बजारका होटेल-होटेल चाहरेरै पनि । यसै क्रममा आज पनि टाउकाको नाम्लाको पीडासंगै नाबालक भुन्टेलाई समाएर बाह्र बजेको टन्टलापुर घाममा घुम्दै छिन उनी सही बजारमा दाउरा बेच्नका लागि ।

उनी जुन-जुन होटलको अगाडी पुग्थिन, सायद भोकले पेट बटारेर होला भुन्टेले प्रस्न गर्थ्यो- “आमा त्यो समोसा कहिले खाने हामीले ?”

सान्त्वना दिदै उनले भन्थिन- “पख बाबु अहिले खाउलाँ” ।

अर्को होटेलमा पुग्दा तयारी दालभात तरकारी देखेर होला भुन्टेले पुन: प्रस्न गर्थ्यो – “आमा दिउसो भैसक्यो कहिले खाने त भात हामीले ?

“पख बाबु दाउरा बिक्यो भने एकछिनपछि खाउलाँ” उनले मन कुड्यार जवाफ फर्कौउथिन ।

परिवर्तन (लघुकथा)

राजधानी पसेको पनि लगभग दुइ वर्ष बितिसकेछ, कति चांडो बित्छ समय पत्तै हुदैन भन्या । संगै धूलो, मैलो, माटो र गोबरमा खेलेका साथीहरू कत्ति माथि पुगिसकेका यो देखावटी जीवन जिउनेहरूको भीडमा ।

ढुक्क हुनु दाई ……….डिसटिनसन ल्याउछ भाई

ढुक्क हुनु दाई डिसटिनसन ल्याउछ भाई राम्रो पढ्दै छ ,
दाई एक बोरा पैसा पठाउनु काठमाडौँमा महंगी अत्ति बढ्दै छ ,,

के मीठो के नमीठो दुइ छाक टार्न गार्हो भो यहाँ

आक्रोश (लघुकथा)

एउटा भलादमी मान्छे चिल्लो गाडीबाट ओर्लिन मात्रै के भ्याएको थियो, त्यही मान्छेलाई स्वागतार्थ बसेका गाउँले दाजुभाइ दिदीबहिनीहरू सबै खनिए। उसै माथि मुक्काले, जुत्ताले त कोही ढुंगाले हान्दै । अलि पर बसेका गाउँ टोलका भलादमीहरू भने च्व च्व गर्दै ल अब अनिस्ट हुने भो पाहुना माथि हातपात गर्ने कस्तो छाडापन हो यो भन्दै थिए । तर उक्त भलादमी मान्छेमाथि भने मान्छेहरू खनिंदै थिए – गरिब जनतालाई मीठा सपना बाँडेर आफुचाही कुर्चीको फोहोरी खेल खेलिरहिस हैन ? ‘ल खा ‘ ल’ खा’….। अब पनि चेत पाइनस भने तलाई टाउको तल र खुट्टा माथि बनाएर गाड्नेछन् नेपाली जनताले तँलाई ।

शुरु देखि नै रमिता हेरिरहेको म पनि नजिकै पुगें -उक्त्त मान्छे रगताम्य भएका थिए र रुन्चे स्वरमा भनिरहेका थिए – बचाऊ ….बचाऊ…. मलाई बचाऊ……। मुस्किलले ठम्याए मैले उनलाई। आखिर उक्त्त भलादमी मान्छे अरु कोही टाढाको नभएर गरिबको सपना बुनेर संबिधान बनाउछु भन्ने त्यही गाउँबाट संबिधान सभाको चुनाब जित्ने सभासद थिए। र जनताको आक्रोश खेप्दै थिए, एउटा गहकिलो पाठ अरु सभासद र फोहोरी नेताहरूलाई पनि पढ़ाउदै …….।

फरक फरक रुवाई

‘नाई, आज म अघाउन्जेल खाने हो’ पाँच दिन अगाडि म सदरमुकाम गएर आएपछि अघाउन्जेल भातै खालास भन्नु भएको होइन ? जाजरकोटको एउटा गाउँमा छोरो बाउसँग रुँदै थियो अघाउन्जेल सेतै भात खान पाउनु पर्छ भन्ने माग राख्दै ………।

त्यति नै बेला राजधानी को एउटा घरमा काम गर्ने नोकर हकारिंदै थियो – ‘पाजी, यत्रो वर्ष काम गर्दा पनि तँलाई अक्कल छैन? मेरो पप्पीले चिकन खाँदैन भन्ने थाहा हुँदा-हुँदै झुक्काएर मटनको ठाउमा चिकन दिन्छ्स, चाँडो मासु-मासु छानेर प्लेटमा राखिदे…. हेर त बिचरा मेरो पप्पी रोइरहेको ……. ।’