Skip to content

भलाद्मी श्रीमती (लघुकथा संग्रह -२०६३)

भाषण र व्यवहार (लघुकथा)

समाजमा भलाद्मी र समाजसेवी गनिएको उसले आजपनि चोक बजारमा सबैका सामू चर्को चर्को भाषण दियो – “छोरा र छोरी दुइमा केहि फरक छैन । छोरीले पनि छोराले बराबर गरेर देखाउन सक्छन, यदि अवसर पाए भने ।”

यति भन्दा नभन्दै उसले झल्लक सम्झियो उसलाई आज अलि हतार थियो । २-४ दिन भित्रै उसको दोस्रो बिहे हुन लागेको थियो । त्यो पनि छोरो पाउने श्रीमतीको साथमा । उसले आफ्नो कुरा टुंग्यायो र मनमनै सोच्दै अगाडी बढ्यो – “छन त छोरा र छोरी दुइमा केहि फरक छैन तर……..।”

इस् खा आजको राशीफल (लघुकथा)


पत्रिका हातमा लिएर नाँच्नु नाँच्यो ऊ तर ननाँचोस् पनि कसरी? उसको आजको राशीमा लेखिएको थियो-प्रेममा सफलता, आर्थिक लाभ, मिष्ठान्न भोजन, स्त्री जतिको बिशेष सहयोग आदि इत्यादि । तर पत्रिका पढिसकेर साथीहरूलाई देखाउन भर्यांङ्को सिढी झर्दै गर्दा अचानक ऊ चिप्लिएर लड्यो र अनायासै बेहोस् भयो ।

परिवारका अन्य सदस्य हरूले उसलाई हस्पिटल पुर्याए । उसको एउटा हात अनि एउटा खुट्टा भाँचिएको रहेछ । बेलुका हात खुट्टा प्लास्टरपछि ऊ घर फर्कियो र पलंगमा निराशाताकासाथ पल्टियो। केही पर उही बिहानको पत्रिका देखेर रिसले चुर हुदै लतारिदै पत्रिका नजिकै पुग्यो र त्यही पलास्टर गरिएको हातले थिचेर अर्को हातको सहायताले पत्रिका झुरा झुरा पार्दै आफैले आफैलाई लोप्पा खुवाउदै भन्यो- “इस् खा आजको राशीफल”

अर्को जन्म (लघुकथा )

जीवनको एउटै सहारा आफ्ना पतिको कुनै भिडन्तमा भएको मृत्युपछि दुई-तीन वर्ष बिताइसकिन बिचार हरिमायाले, दाउराको भारी पिठ्युमा बोकेर बजारका होटेल-होटेल चाहरेरै पनि । यसै क्रममा आज पनि टाउकाको नाम्लाको पीडासंगै नाबालक भुन्टेलाई समाएर बाह्र बजेको टन्टलापुर घाममा घुम्दै छिन उनी सही बजारमा दाउरा बेच्नका लागि ।

उनी जुन-जुन होटलको अगाडी पुग्थिन, सायद भोकले पेट बटारेर होला भुन्टेले प्रस्न गर्थ्यो- “आमा त्यो समोसा कहिले खाने हामीले ?”

सान्त्वना दिदै उनले भन्थिन- “पख बाबु अहिले खाउलाँ” ।

अर्को होटेलमा पुग्दा तयारी दालभात तरकारी देखेर होला भुन्टेले पुन: प्रस्न गर्थ्यो – “आमा दिउसो भैसक्यो कहिले खाने त भात हामीले ?

“पख बाबु दाउरा बिक्यो भने एकछिनपछि खाउलाँ” उनले मन कुड्यार जवाफ फर्कौउथिन ।

परिवर्तन (लघुकथा)

राजधानी पसेको पनि लगभग दुइ वर्ष बितिसकेछ, कति चांडो बित्छ समय पत्तै हुदैन भन्या । संगै धूलो, मैलो, माटो र गोबरमा खेलेका साथीहरू कत्ति माथि पुगिसकेका यो देखावटी जीवन जिउनेहरूको भीडमा ।