मर्ने भइयो
अभाव अनि पथ पथका रोकाई सँगै मर्ने भइयो
हृदयमा धातु किला ठोकाई सँगै मर्ने भइयो
खोज्या चिज आकाशका फल जस्तै भए सबै,
कलेजोका कुना कानी टोकाई सँगै मर्ने भइयो ।
मानवको स्वाभावै हो मात्तिने र हुङ्कार बाँड्ने,
आफू भने नउम्लेको पोखाई सँगै मर्ने भइयो ।
जीन्दगीका कति कति परीक्षा हुन् दिनु पर्ने,
रात दिन अनगिन्ती जोखाई सँगै मर्ने भइयो ।
हुन्न यहाँ केही पनि रोई कराई जे गरे’नि,
आदर्शका हरफ हरफ घोकाई सँगै मर्ने भइयो ।
रुखो हाँसो हास्नु पर्छ, भित्र आँधी चल्या हुन्छ,
मस्तिष्कको गह्रौँ बोझ बोकाई सँगै मर्ने भइयो ।

सल्लेरीको हावा भयो नेताजीको बोली