अभाव अनि पथ पथका रोकाई सँगै मर्ने भइयो
हृदयमा धातु किला ठोकाई सँगै मर्ने भइयो
खोज्या चिज आकाशका फल जस्तै भए सबै,
कलेजोका कुना कानी टोकाई सँगै मर्ने भइयो ।
मानवको स्वाभावै हो मात्तिने र हुङ्कार बाँड्ने,
आफू भने नउम्लेको पोखाई सँगै मर्ने भइयो ।
जीन्दगीका कति कति परीक्षा हुन् दिनु पर्ने,
रात दिन अनगिन्ती जोखाई सँगै मर्ने भइयो ।
हुन्न यहाँ केही पनि रोई कराई जे गरे’नि,
आदर्शका हरफ हरफ घोकाई सँगै मर्ने भइयो ।
रुखो हाँसो हास्नु पर्छ, भित्र आँधी चल्या हुन्छ,
मस्तिष्कको गह्रौँ बोझ बोकाई सँगै मर्ने भइयो ।
