Skip to content

रामजी पौडेल

माया गरें तर पीडा दियौ

तिमीले मलाई सांचै माया मारी गएछौ
एकान्तमा सम्झी रुने पारी गएछौ
नजिक थियौ मुटु भित्र बल्झे जस्तो छ
किलकिलेमा तिम्रो माया अल्झे जस्तो छ

बिर्सु भन्दा निस्ठुरीलाई चर्किन्छ झन् घाउ
नबिर्सु त सुख छैन केले मलम लाउँ
जिन्दगीनै अर्पेको थिए मैले तिमीलाई बकस
न त मर्नु न त जिउनु अहिले पर्यो सकस

मेरा सारा खुसि चुडयौ गयौ तिमी टाढा
फूल जस्तो माया देखाई बल्झाई दियौ काँडा
बाँच्न मन छदै छैन आज हो कि भोलि
तड्पीएर बाँच्नु भन्दा पिउं भो क्यारे गोलि

जिन्दगी

जिन्दगी आगो हो ताप्न जाने रापिलो छ
जिन्दगी अचार हो चाख्न जाने चोपिलो छ
जिन्दगी माटो हो रोप्न जाने मलिलो छ
जिन्दगी बाली हो गोड्न जाने फलिलो छ

जिन्दगी युद्ध हो लड्न जाने जित हुन्छ
जिन्दगी बुद्ध हो बाच्न जाने प्रित हुन्छ
जिन्दगी नदी हो बग्न जाने सागर मिल्छ
जिन्दगी भवसागर हो तर्न जाने मुक्ति मिल्छ

देश दुखेको बेला

मानौं मेरो देश सबकी साझा द्रौपदी हो
सयौं दुर्योधन र दुशासनहरु
चिमोट्छन निमोठछन्
त्यसैले त मेरो देश असाध्य दुखिराखेको छ
ऐया र आथ्या को कहर कोहि सुन्दैन
घोर कलियुग
तानातान र हानाहान
सत्ताको दाउमा च्याखें थापिरहेछन्
युधिष्ठिर नामर्द, अर्जुन लाचार छन्
कृष्णजीलाई पनि गोपिनीसंग भ्याईनभ्याई छ
द्रौपदी चीरहरण मन्चन भैराखेको बेला
अंधा धृतराष्ट्र हाम्रा नेता केहि देख्दैनन्
द्रोण र भिष्म जस्तै हामी जनता
निरिह जयजयकार गाउदै हिंडछौ
महाबली यूवराज दुर्योधनको जय!!!

सीमानामा घाऊ

मेरो आफ्नो सीमानामा घाउ परेछ
मेरो आफ्नो छिमेकी त राहु परेछ

आफ्नो सीमाना धेरैजसो उसैसंग पर्ने
उसका भोका साँढेहरु मेरै बाली चोर्ने
आफ्नोभन्दा उभो पर्छ अग्लो पहरो
त्यहीँबाट बग्दै झर्ने काली छहरो