Skip to content

कला अनुरागी

भरियाले कविता लेख्छ

आहा ! कति सुन्दर छ यो युद्धविराम जस्तो विसौनी । सिरसिर बहिरहेको यो हावामा हामी जीवनका सुनौला आशाहरु फिरफिराउँदै उडिरहेको देख्छौं । अझै बाँकी छन् युद्धजस्ता नाकै ठोकिने उकालाहरु । हो त युद्ध सकिएको छैन । युद्धविरोधी क्रान्ति चढिरहेछ यी ढुङ्ग्यान सिँढीहरुमा हामीले चालेका पाइलाहरुजस्तै निरन्तर उकालो । यो उकालो नसकिएसम्म शिखरमा नपुगेसम्म चलिरहनेछ क्रान्ति । जीवन नै रहेछ क्रान्ति । क्रान्ति नै रहेछ जीवन ।

एउटा योद्धाको डायरी

उत्रनै नसक्ने गरी डुबेथें
कुनै सुन्दर युवकको प्रेममा डुबेकी युवतीजस्तै
म मेरो देशको प्रेममा ।

तर उसलाई जीवनभन्दा प्यारो मानेर
उसलाई ताकेको गोली छातीमा थाप्दा
गर्वले फुलेको छाती आज
उदासी बॊक्ने अर्को अङ्ग किन बनिरहेछ
ढाकेर मुटुको मखमली पर्दाले
जोगाएको उसको माया
डिस्को पुस्ताको मनबाटजस्तै
मेरो मनबाट पिन
आज किन बिरानिन खोज्दैछ
म सोधिरहेछु पि्रय देशसँग ।

फूलमाया मुस्कुराउने दिन

इतिहास लेखिनु अघिकै दिनहरुदेखि
पर्खिरहेकी छे फूलमाया
ऊ साँच्चै मुस्कुराउने दिन ।

तिमी देख्न सक्छौ
मुस्कुराउँछे हिजो आज पनि फूलमाया
काँडाघारीको बिचमा मुस्कुराउने
सुन्दर जंगली फूल हो ऊ
जानेकी छे उसले सानैदेखि
दुःखको बिचमा पनि मुस्कुराउन
तर दुःखमा मुस्कुराउनु
र सुखमा मुस्कुराउनु बिच
क्षितिजमा जोडिएको आकास
र धर्तिको जस्तै छ नाता ।