फूलमाया मुस्कुराउने दिन


इतिहास लेखिनु अघिकै दिनहरुदेखि
पर्खिरहेकी छे फूलमाया
ऊ साँच्चै मुस्कुराउने दिन ।

तिमी देख्न सक्छौ
मुस्कुराउँछे हिजो आज पनि फूलमाया
काँडाघारीको बिचमा मुस्कुराउने
सुन्दर जंगली फूल हो ऊ
जानेकी छे उसले सानैदेखि
दुःखको बिचमा पनि मुस्कुराउन
तर दुःखमा मुस्कुराउनु
र सुखमा मुस्कुराउनु बिच
क्षितिजमा जोडिएको आकास
र धर्तिको जस्तै छ नाता ।

शोषण नामको शितलहर
बाह्रै महिना चल्ने उसको पहाडी गाउँमा
तिमी भेट्न सक्छौ उसलाई
नुहाउँदै गरेकी तातो पसिनाले
ऊ बस्न चाहन्छे
आफ्नै ह्दयजस्तै सफा र सुन्दर ।

दुःख नामको हिमपात
चौबिसै घन्टा भईरहने
ब्वाँसे हो उसको गाउँको नाउँ
जहाँ दर्ता बिना नै
हिमाल चढ्दा हिउँले पुरिएको
गुमनाम पर्यटक झैं
पुरिएका छन् उसका तन्नेरी सपना हिमपातले
तर फाल्न चाहन्छे ऊ
अक्षरहरुको सावेलले
सपनामाथि जमेका हिउँ
र जोर्न चाहन्छे
आफ्नो कटेरोको अँगेनुमा आगो ।

पाँच कोश टाढा छ स्वप्निल पाठशाला
र बाटाको हिउँ फाल्दा-फाल्दै
पौने दश देखाउँछ उसको घाम घडी
ऊ यतिखेर आक्रामक छापामार हुन्छे
बाटैमा रोक्न सकिदैन उसलाई
खोतल्न सकिदैन उसको झोला
जसभित्र हुन्छन् खतरनाक मिसाइलहरु
जसभित्र खिपेकी छ उसले
अक्षरहरुको अणुबम सल्लाको दियालोमा ।

पाठशालामा उसका गुरुहरु
सवा दशबजे पाठशाला आएकोमा
खाली राख्छन् उसको हाजीरी
र सवा बाह्र बजे आएर
गर्छन् आफ्नो हाजिर
तर दिन सक्दैनन् उसको प्रश्नको उत्तर
‘किन पग्लन सकिरहेको छैन
उसको बाटो छेक्ने हिउँ
यो सबैभन्दा तातो मानिएको
गणतन्त्र नामको घामले ?’

ए ! कवि महोदय
तिमी दिन सक्छौ उत्तर
‘कहिले पग्लिन्छ हिउँ
र आउँछ फूलमाया साँच्चै मुस्कुराउने दिन ?’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *