बिचारशिल गजलहरुको एउटा उत्कृष्ट सङ्रह; बर्दियाली प्रतिनिधि गजल
श्रेष्ठ समनश्रीबाट सम्पादित तथा बर्दियाली साहित्य मञ्चबाट प्रकाशित “बर्दियाली प्रतिनिधि गजल” संयुक्त गजल संग्रह भर्खरै सार्वजनिक भएको छ । संग्रहमा बर्दियाका ५ जना नारी सहित १६ जना गजलस्रष्टाहरूको ४८ वटा उत्कृष्ट गजलहरू ८४ पृष्ठमा संग्रहित छन् ।
गजललाई युवाहरूको प्रेमालाप र सायरीको रुपमा यत्रतत्र बखान भइरहेको बेला आएको “बर्दियाली प्रतिनिधि गजल” ले नेपाली गजलमा विचारको सागर पनि छ है भन्ने सन्देश दिन खोजेको छ । हिजोआज सबैको प्रिय र सजिलो विधा बनेको गजलको फाँटमा लेख्नेहरू हजारौं हजार भएका छन् प्रत्येक विद्यालय विद्यालयमा, कलेज कलेजमा, प्रत्येक टोल टोलमा, प्रत्येक जिल्ला जिल्लामा । यो भिडबाट चालेर, छानेर उत्कृष्टलाई पुस्तकको आकार दिनु पक्कै पनि चुनौतिपूर्ण छ ।
