Skip to content

भीष्म भूसाल

सबैभन्दा बिषालु प्राणी

फूलले भन्यो-
“मेरो सुगन्ध
मेरो सौन्दर्य
सुँघ र हेर परैबाट
जीवनको रङ छाम्नेछौ हृदयले”।
मैले भनें- “तिमी मेरै ह्वौ”
र दिएँ एक विषालु चुम्बन
फूल मुर्झायो, झुक्यो र लत्र्यो
सौन्दर्यको हत्या गरेर
रङहरूलाई रूवाएँ

खै के लेख्नु कविता

चेलीहरू आत्मरक्षार्थ चिच्याइरहे
माइतिहरू मन्दिरमा भजन गाइरहे,
भाइहरू भोकले शहीद भए
दाइहरूले तिनका शालिक बनाए
र त्यसमै कमिसन खाइरहे ।

सलाइ खरिद्न नसक्ने खरदार भयो
अख्तियार नै किन्ने उसको दरवार भयो
पियनले थर्काएको हाकिम
डान्सबार उसको घरवार भयो ।

फूलहरू, शहीदहरू र नेताका गर्धनहरू

मालाले तिमी छपक्क छोपियौ
तिम्रो शीर फूलको थुम्कोबीच पुरियो
क्यामराहरूले आँखा सन्काएः झिमिक्-झिमिक्-झिमिक्
केही बेरपछि नै हामी मालाहरू
सडक छेउका नालीमा मिल्कियौं ।