Skip to content

फूलहरू, शहीदहरू र नेताका गर्धनहरू


मालाले तिमी छपक्क छोपियौ
तिम्रो शीर फूलको थुम्कोबीच पुरियो
क्यामराहरूले आँखा सन्काएः झिमिक्-झिमिक्-झिमिक्
केही बेरपछि नै हामी मालाहरू
सडक छेउका नालीमा मिल्कियौं ।

जब हामी बगैँचामा थियौं
भ्रमर- नृत्यसँगै हामी हल्लन्थ्यौं
नानी फूलहरू मस्कँदै आउँथे
त्यहाँ जीवन थियो, आकर्षण थियो
माटोको सुवासमा बतास लुटपुटिन्थ्यो,
तर पनि जब हाम्रा घाँटी निमोठिए
त्यो प्राणान्तक वेदनाभित्रका पीडाका सिर्काहरू
तिम्रा गर्धनमा आएर पोखिए,
हामीले ठान्यौ, हामी धन्य भयौं ।

कापालिकहरूका भिक्षापात्र सरह
उत्सर्गका प्रतिमूर्ति शहीद- खप्परहरू देखाउँदै
तिमीहरूले जनतासँग भिक्षा मागिरह्यौ र भन्यौ-
“हामी मुक्तिदाता हौं
माग्छौं केवल तपाईंका त्याग र समर्पणहरू
जुन हतियारले हामी
यिनका अधुरा सपनाहरू
यसै माटोमा जिउँदा र मूर्त बनाउनेछौं ।”

तिनका पनि स-साना फूलबारी थिए
जहाँ हाँस्थ्यो तिनको
भर्खर एउटा दाँत पलाएको छोरो
स्वास्नी सिउँदो कोर्थी र
त्यही धर्कोले पुरिदिन्थी दुख, अभाव र आला सपनाहरू
गोधूली साँझमा टोपीले पसिना पुछ्दै
जब ऊ आँगनमा झुल्कन्थ्यो
उसका औंला समात्थी- पुतलीफ्रक लगाएकी सानी छोरी
दैलाबाट चियाउँदै मुसुक्क मुस्काउँथी
अँगेनामा आगो ठोस्दै गरेकी स्वास्नी
हो, तिनका स्याना र मधुरा सपना थिए
कल्पिन्थे- स्वर्गको एक सानो टुक्रो
तिनले आफ्नै आँगन होस् ।

त्यो दिन,
जब तिमीले यही गर्धन फुलाउँदै भन्यौ-
“जूनकीरीको उज्यालोमा नअल्मलिउ
जाग, उठ र हिंड- आँगनभन्दा बाहिर
अधिकारको, न्यायको र विकासको त्यो राँको
हामीले खोसेर तिम्रो घर उज्यालो पार्नेछौं ”
उसले पत्याएको थियो र
स्वास्नीका सुँकसुँक्याइ हत्केलोले छोप्दै
दौराको फेरो समातेकी छोरीको हात छुटाउँदै
तिम्रो पछि लागेको थियो
गोहीका मुखमा पुग्ने बेला तिमीले भन्यौ-
“हार्नका लागि एउटा फ्याङ्ले शरीर न हो
जित्नका लागि पुरै संसार छ,
अघि बढ, झम्ट र खोस।”

जब एउटा गोलीले उसको पातलो छाती छेड्यो,
तिमीले झण्डाको कात्रो ओढायौ
र मकर-पीडाको अनुभूति गर्दै खोक्यौ,-
“तिम्रा सपनाहरू नै हाम्रा शीरका कफन हुनेछन्।”
हो, त्यसै दिन देखि खोसिए
घुर्मैला सपनाहरू ती स्वास्नीमानिसका
भर्खर ताते गर्ने एकदन्ते बच्चाका
दुई चुल्ठीमा सजिएकी पुतलीका ।
त्यो स्वास्नी मानिस, अब पोइटोकुवा भई
उसको सिउँदोसँग पखालिए
उसका इज्जत, मान र अस्तित्वहरू,
जब आँशु सुकेर उसका आँखाहरू
चैतको डढेलो जस्ता देखिन्छन्
यो समाज भन्छ-
“हेर त्यसका आँखा बोक्सीका जस्तै छन्”
त्यही समाज,
त्यो एकदन्ते बच्चोको दाँतलाई
बाबु चपाउने दाह्रा देख्छ
जब स्कूलमा कसैको पेन्सिल हराउँछ
त्यो टुहुरी केटी नै चोर करार गरिन्छे ।

कतै कहिल्यै शुष्क स्वरमा त्यो आइमाई भन्छे
कि ऊ त शहीदकी जहान हो
तब सोधिन्छ-
“तिम्रो लोग्ने कसरी शहीद भएको “?
“गाडी दुर्घटनामा या ग्याङफाइटमा?”
हिजोको स्वर्गको सानो आँगन
आज गाली, हेला र अपमानमा
तैरिंदै डुब्दै गरिरहन्छ,
प्रत्येक गोधूली साँझमा
पारी बाटोको कुइनेटोमा
जब कसैको छायाँ देखिन्छ
छोरी भन्छे- “आमा हेर त हाम्रा बा !”
तर त्यो छायाँ अँध्यारो बाक्लिदैं जाँदा
केवल त्रासको प्रतिविम्ब बनेर
तिनका आँगनको बाटो हिंड्छ ।

बिचरा ! तिनका सपना
तिम्रा गर्धनबाट मिल्किइएका
तर, शहीदको गर्धनसँग साटिएका
हामी फूलहरू झैं
फोहोर नालीमा तबसम्म सुताइन्छन्
जबसम्म अर्को चुनाव आउँदैन,
जब तिमीहरूको कुर्ची धरापमा पर्छ
तब शहीदको बिस्कुन सुकाउन
शब्दका इन्द्रजाली मोहनी अवतारहरू
भाषण बनेर तिम्रा मुखबाट ओर्लिन्छन् ।

हामी बिर्सन्थ्यौं चुँडिनुको पीडा
यदि त्यो विधवा आइमाई
मुहारमा तानेर मुस्कान
द्वितीयाका चाँद जत्ति मात्रै भएपनि
पहिराउँदी हो तिम्रा गर्धनमा
एउटा माला आस्थाको
ती टुहुरा देख्दा हुन्
तिनका बाबुका प्रतिच्छाया तिम्रा आँखाका नानीमा
हामीलाई अफसोच छ-
तिम्रा गर्धनका लागि
फूलको शहादत र शहीदको शहादत
उस्तै उस्तै छ, तर पनि
ती शहीदका आँगनको छायालु कुनामा
तिनका आँशुको बरसातमा
हामी केवल रोइरहन्छौं
भरोसाको मृत्यूशोकमा ।

सान सेवाष्टियन, स्पेन
२१ अप्रिल, २०१३

http://nadikinarakageet.blogspot.com.es/2013/04/blog-post_23.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *