क्याम्पसबाट थकित अनि भोकी शोभना आफनो कोठामा प्रवेश गर्नासाथ झोला फ्यात्त टेबलमा राखेर आफ्नो पलङमा डङ्गरङग पल्टिन्छिन् पुरै जीउ छाडेर । मानौ पलङले उसलाई सम्हाल्न आउँनेछ र आफ्नो काखमा राख्नेछ थकाइ मेटाइदिनको लागि । उसलाई आफ्नो कोठा यति प्यारो लाग्छ कि कुनै कुरासँग सम्झौता गर्न चाहदिनन् । शोभना, ए शोभना ! हैन यो कलेजबाट आएकी जस्तो लागेको थियो । हैन कि कया हो? ए रामु ! हेर त, दिज्यू कोठामा हो कि हैन? आमु दिज्यू त यही आइसकिस्यो रामु भन्दै थियो ।
शोभना के भयो तँलाई? अनुहार मलिन छ नि ! किन सन्चो भएन कि? प्रश्न माथि प्रश्न राख्दै हुनुहुन्थ्यो आमुले । तर शोभना भने मलिन रुपमा नै जबाफ दिदै थिइ- हैन आमु त्यस्तो केही हैन । मात्र थकाइले हो । तँलाई मन पर्ने तरकारी पकाएकी छु-मटन पनिर, मासको दाल र गोलभेंडाको अचार । आज किन हो कुन्नि, शोभनामा कुनै उत्तेजना नै छैन । सबैलाई खाना तताएर थालमा पस्केपछि मात्र खान आउँछन् । तर शोभना भने सकेसम्म आफ्नो काम आफैं गर्न रुचाउने स्वभावकी भएकीले सबै आफैंले तताइन् अनि टेबलमा खान बसिन् ।