Skip to content

उनी खोला हुन सकिनन्

शीशीरको मध्य दिन । न्यनो घामको ताप वरपर चराचूरुङ्गीले गीत गाइरहेका छन् । नजिकैको सानो खोल्सोमा वगेकी सानो तर स्वच्छ तथा पवित्र नदीले ठूलै स्वरुप लिएर रिसाएझैं आवाज निकाल्दै वगेकी छन् । छेवैको चौरमा बाख्राहरु आफ्नो भोकको ज्वला मेटाउन ससाना दुवोको मुन्टा पनि नछोडी मेलैले चरेको दृष्यहरु वीचमा भर्खर जवानीमा पाईला टेक्न लागेकी किशोरीको एकाग्रतामा हराएको निष्‍कपट उपस्‍थितीले जो कोहीको पनि ध्यान नखिचीरहन सक्दैन थियो ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण त्यो स्थान, त्‍यसमाथि पनि लालित्यमय जवानीले छुनछुनलागेको चमेलीको चञ्‍चलता देख्दा सवैलाई चमेली बन्न मन लाग्थ्यो । चमेली शान्त स्वभावकी, सवैको प्रिय अनि सौम्‍य किशोरी । आफन्तको नाममा कोही नभएकी टूहुरी । अनुहारमा सधैं हाँसो पोतेकी अनि वेदनालाई दमन गरेकी एउटी केटी, जो आमाको स्‍नेह तथा मायां दिएर बसेकी छ एउटा सानो होटेलकी साहुनी कहाँ । तर साहुनीवाट घरको कामगर्ने नोकर्नीको रुपमा हेरिंदा दू:खीत हुन्‍छे ऊ कहिले काहीं । ‘यस्तो जीवन जीउन थालेकी पनि ७ वर्ष भइसकेछ’ चमेली मनमनै गन्छे कति वर्ष भयो साहुनीकहाँ आएको भनेर । जीबनका विगत दिनलाई नियाल्दै थिई, वाख्राको म्या-म्याले सम्झनालाई यथार्थतामा ओराल्‍छ ।

नारीको इच्छा र चाहनाको अंकुर फुट्न लागेको हुन्छ उसको मनमा । चाहन्छे छिमेकी मालिकका छोरा-छोरीको जस्तै जीवन जीउन । कल्पनामा डुब्नु त उसको दैनिकी नै हो । कल्पनाबाट सन्तुष्टी लिन खोज्छे चमेली हरेक सुखलाई । चाहे त्यो बाबुआमाको माया होस् या आफ्नो पछि हुने श्रीमानको माया नै किननहोस् । यसपालीको फागु पूर्णिमाबाट उ १५ पुगेर १६ लाग्छे – किशोराबस्‍थाको उत्‍कर्ष र इच्छा सृजनाको चरम स्थानमा । उसका राता गाला भरीलो तथा हातीको सुंडजस्तो सलक्कपरेको शरीरलाइ देखेर धेरैले र्‍याल चुहाएको राम्ररी थाहा छ । तर पनि उसको मन कहिले पनि कसैसंग विचलित भएन एक जना किशोरसंग बाहेक । ऊ त्यो किशोरको कल्पनामे डुबिदिन्छे । उसलाई मनमनै मया गर्छे, मरिमेट्छे अनि भुतुक्क हुन्छे । ऐनामा हेरेर भन्छे- रमेश, म तिमीलाई धेरै माया गर्छु । उसलाई यस्तो उच्चारण गर्दा अत्यन्तै लाज लाग्छ र आफैंले आफ्नो अंजुलीमा अनुहार लुकाउंछे ।

रमेश एउटा अपरिचित व्यक्ति जो साहुनीको लजमा एकरात गाडी विग्रेर नचल्दा बसेको थियो र खाना दिने क्रममा उसले देखेकी थिइ । पहिलो पटक देख्दानै उसको मुटुको ढुकढुकी बढेको थियो तर उसलाई थाहा थिएन किन त्यस्तो भयो भनेर । रमेशले पनि मायालु आँखाले उसलाई पटक पटक चोरी चोरी हेरेको राम्ररी थाहा थियो । आफ्नो लजमा एक रात विताउन आएको एउटा युवकलाई उसले कसरी भन्न सक्थि – म तिमीलाई मन पराउँछु भनेर । एकरात वसेर गएको त्यो युवको आगमनको प्रतिक्षा ऊ गरिरहन्थी असम्भव नै भए पनि ।

संयोग वस सोही युवक फेरी ६ महिना पछि त्‍यही लजमा आएर बस्यो, सायद चमेलीको आत्‍माको पुकारले होला । चमेलीलाई देउता आएजस्तो भयो । हुन पनि किन नहोस् , त्यो अपरिचीत व्यक्तिकोलागी ब्रत बस्दथी, भाकल गर्दथी । धैर्यताले अन्जाम दिन्छ भनेझैं ऊ दङ्ग थिई । हेर्न चाहन्थी मनभरी, छुन चाहन्थी हातभरि र अंगालेर भन्न चाहन्थी – किन गयौ मलाई एक्लै छाडेर ? चमेलीको मानसिक हालत देख्दा लाग्थ्यो रमेश मात्र उसको लागी बनेको हो । एकतर्फी मायाँ मात्र पो हो कि भन्ने तर्कना चमेलीमा नआएको पनि होइन । तरै पनि उस्‍को मन-मन्‍दीरमा केबल रमेश मात्र थियो । अन्य ग्रहकलाई भन्दा बढी नै सत्कार तथा मान गरेको प्रष्ट हुन्थ्यो चमेलीको व्यवहारले । ढुङ्‌गा त पग्लन्छ, मानिस नै हो ऊ । एकदिन पग्‍लन्छ भन्ने आसमा थिई ।

चमेली अत्यन्त सरल र सुन्दर नारी थिई। अन्तत रमेशको मनपनि पग्लदै थियो चमेलीको लागी । मध्यम वर्गीय रमेशले चमेलीसंग कुरा गर्नु अगाडि साहुनीसंग सवै सोधपुछ गरेर जानकारी लिइसकेको रहेछ । उसका समकालिन केटीसाथीहरुसंग दाज्छ चमेलीलाई । न त देखावटी पन छ न त छलकपट ! उनी त निस्छल झर्नाबाट झरेकी पानी जस्ती, कोरा कागज जस्‍ती सफा। छलकपट र झुटोपन खोज्दा पनि भेटिन्नथ्यो चमेलीमा । न त शहरको आडम्वरले ढाकेको छ उसकॊ अनुहार न त नक्कली फेसनले बेरेका छन्‌ उनको शरीर । छ त केवल प्राकृतिक सौन्दर्यले निखारीएको शरीर, विहानीमा उदाउँदो सूर्यको लालित्य जस्तो राता गाला, चन्द्रमाको शीतलता जस्तो व्यवहार,सवैलाई मधुरमग्न पार्ने उनको मुस्कान । यी सवै कुराले गर्दा रमेशलाई लाग्यो- चमेली जतीको सुन्दर र मायालु जीवनसाथी उसको लागि कतै बनेको छैन । मनमनै दृढ निश्चय गर्छ चमेलीलाई आफ्नो बनाउन, उनको सिउंदो रङ्ग्‍याउन अनी जीवनभर संगै जीउन। यस्ता कुरा मनमा खेल्दा खेल्दै रमेशलाई आफ्नी चमेलीको सौन्दर्यमा मुग्ध भएर केही लेख्न मन लाग्छ र कविताको रुप दिने प्रयाश गर्छ शब्द शब्दलाई बुनेर यसरी –

फूलहरुको बास्‍ना बोकेर हावा बग्‍दै थियो
चराहरुको संगितले बाताबरण मदहोस्‌ भयो,
चमेलीको कल्‍पनामा मन मेरो डुब्‍दै थियो
लाग्‍थ्‍यो कतै सुन्‍दर परीको धर्तीमा अबतरण भयो ।

काला अनि सलक्‍क बगेका आँखीभौँ नचाउंदै
चन्‍चल मृग नयनले मदहोस बनाउंदै
घना लामो कपाललाई जाइ-जुहीले सजाएकी
अधरमा गुराँस लाली-हिऊँ जस्‍तै गोरी-उजेली ।।

बर्णन के गरूँ ऊनको ऋषी चित्त बिथोलिने
गालाहुन्‌ कि शिरिशको फूल या सीमलको भुवाझैं लाग्‍ने
दन्‍त लहर छन्‌ अनार दाना लस्‍कर हिमालको
अनुहार छ पूर्णचन्‍द्रै, शीतल जूनेली रातको।।।

नदीमा पर्ने भूमरी जस्‍तो नाभी उन्‍को सुशोभित
कोकिल-मृदूल स्‍वभाव ऊन्‌मा अनौठो मोहनी छ
बत्तीसै गुँडले युक्‍त्त चमेली, सुन्‍दर स्‍वरुप सृस्‍टीको
निष्‍छल,कोमल मन छ ऊनको,सँ‌गी प्रकृतिको ।।।।

यसरी चमेलीको सौन्दर्यमा चुर्लुम्म डुवेको रमेशले आफुले लेखेको कविता पढ्छ र आफैं दङ्‌ग पर्छ । चमेलीलाई मनमनले धन्यवाद दिन्छ, किनकी चमेलीले नै उसलाई कवि बनाएकी थिई ।

मनमा साहस जोडेर रमेश अगाडि बड्यो चमेलीलाई आफ्नो भावना सुनाउन । उनीप्रतिको प्रेम पोख्न, आफ्नो प्रेमाकुल मिठो पिडा सुनाउन अनी चमेलीको स्विकारोक्तीको मुस्कान निहार्न । होटलको वरपर चारैतिर खोज्दा कतैपनि नभेटिएपछि अली गाह्रो मनलिएर रमेश निस्कियो होटेलबाट । नजीकैको थुम्को जहां चमेली अक्सर बाख्रा चराउन , आफ्नो मन बिसाउन र पीडा साट्न जान्थी प्रकृतिसंग हो त्‍यही ठाउमा पुग्यो रमेश । उसलाई पत्यार नै लागेन चमेलीको उपस्थिती त्यस ठाउंमा । उस्‍ले लुकेर हेरिरह्यो चमेलीको कृयाकलाप । चमेली एकग्रतामा टोलाइरहेकी थिई । चरचुरुङ्गीको चिरविरसंगै सानो खोलीको मधुर सुसेलीसंगै । प्रकृतिको सुन्दरतासंगै आफ्नो सुन्दरता साटिरहेकी थिई मनभरी रमेशको माया संगालेर, रमेशलाई आफ्नो जीवनसाथी वनाउने झिनो आसा पालेर ।

रमेशले सुस्तसंग गएर एक्कासी चमेलीको आँखा छोप्छ ।चमेली आत्तिएर कराउंदा रमेशले आफ्नो हातले मुख छोपिदिन्‍छ, चमेलीलाई आफ्नो बाहुपाशमा राखेर । चमेली डराउछे रमेसको त्यस्तो अनपेक्षित कार्यले । हत्तपत्त हातबाट निस्कन्छे र रमेशको अनुहारमा हेरेको हेर्यै हुन्छे । उनको जीज्ञासु समर्पणलाई बुझेर रमेशले चमेलीलाई भन्छ- चमेली तिमी म संग विवाह गर्छेउ ? यस्तो प्रश्न सुनेर चमेली खुशी र डरले केही पनि भन्न तथा सोच्न नसक्ने स्थितिमा हुन्छे ।

टोलाएर आफ्नो विगतलाई सम्झन खोज्दछे तर पटक्कै केही पाउंदिन । आफ्नो आमा बाबा दाजुभाइ दिदी वहिनी सबै युद्धमा मारिए वा बाँचेकाछन्‌, कुनै खवर आजसम्म पाएकी छैन । तर सवै परिवार थिए रे उनको । घरवाट साथीसंगीसंग खेल्न निस्केको उनलाई थाहा छ । तर फर्कदा परिवारजन वेपत्ता भएकोले रुँदै भौतारिंदै, आमा – आमा भन्दै एक्लै सडकै सडक हिंड्दा जंगलतिर अन्जानरुपले वगेकी चमेलीलाई बसवाट सौच गर्न ओर्लीएकी एक अधवैंसॆ आइमाइले टपक्क च्यपेर ल्यएको दिन याद आयो । त्यस दिनदेखी मालिक्नी, आमा जे भनेपनि उनै साहुनी भएकी थिइन्‌ चमेलीको संरक्षक । उसलाई आफ्नी आमाले दिएको नाम पनि याद छैन । त्यस्तो अवस्थाबाट व्युतिएकी चमेलीले रमेश जस्तो व्यावहारीक, लायक, सजग र मायालु जीवनसाथी पाउंला भन्ने सम्म पनि सोचेकी थिइन । रमेशले फेरी भन्यो-किन टोलाएकी ? कता हराएकी ?? मेरो जीवन साथी बन्छ्यौ ?

स्त्रीको लजालु गहनाले सिंगारीएकी चमेलीले कुनै शब्द बिना मौन स्विकृती दिएकी थिइ । चमेलीको हात समातेर रमेश होटल फर्रक्‍यो । त्यसको ४ दिनमा चमेलीलाई विवाह गरी आफ्नो घरमा भित्र्यायो । चमेली त्‍यही ठाउँमा गएर त्‍यही सानो खोलासंगै वग्दथी र खोला नै बनिदिन्थी । तर अब ऊ त्यो वनको संगिनी रहिन, वख्राकी संरक्षक रहिन, चराचुरुङ्गीको साथमा रहिन। उनी खोला वगेजस्तो वग्न सकिनन् । अर्को किनारमा गएर क्षमा मागिन् – ‘ मलाई माफ् गर, म खोला हुन सकिन । माफ गर प्रकृति, तिमीसंगै अब म डोरीन सकिन । अव तिम्रो काख बाट उठेर मैले पतिको लागी पत्नीधर्म अपनाउनुछ र त्यसमा पारङ्गत हुनुछ । त्यसैले मलाई विदा देऊ ! म जांदै छु तिमीहरुबाट टाढा-टाढा धेरै टाढा । अलविदा ! अलविदा !!

२००७ जनबरी, टोकीयो

2 thoughts on “उनी खोला हुन सकिनन्”

Leave a Reply

Your email address will not be published. Required fields are marked *