पूर्वोत्तर भारतः नेपाली लेखनीको एक शताब्दी
पूर्वोत्तर भारतमा नेपाली भाषा संस्कृतिको कुटुरोसहित नेपालीहरूको आगमन सन् १८२६ को इष्ट इण्डिया कम्पनी र असमको आहोम राजबीच सम्पादित सन्धिकाल र यसको छेउछाउको अवधिमा भएको मानिन्छ। नेपालीहरूले रीतिथिति, गीत–सङ्गीत, संस्कार–संस्कृति, उखानतुक्का, धर्मसँगैे एउटा विकसित भाषासमेत लिएर आए। पुराणकालमै पूर्वोत्तर आएका नेपालीहरू यहीँको रीतिथिति र बोली/भाषामा रंगिएर रैथाने भए भने पछि आउने नेपालीहरूले आफ्नो भाषा–संस्कृतिलाई बचाउँदै मातृभाषामा साहित्य–सिर्जना गर्न थाले।
