Skip to content

हिरामणि दुःखी

HiraManiDukhi

द्वन्द्वको घाउ

सबल स्कुलबाट घर आउँदै थियो । दुईजना युवाहरू उसको आँगन छेउको तगारो लगाउँदै बाटो लागे । उनीहरूले घाँटीमा क्यामेरा झुण्ड्याएर पिठ्युँमा झोला भिरेका थिए । एक सूरमा हिँड्दै गरेका युवाहरूलाई देखेपछि सबल सतर्क भयो । उनीहरूको अनुहार केही नियास्रो देखिन्थ्यो । सबल पैयुँको रुखमा छेलिएर आँगनको डिलबाट उक्लँदै घरमा पस्यो । पिँढीमा बसेकी हजुरआमाले थाप्लाको रुमाल झिकेर आँशु पुछ्दै गरेको दृष्यले ऊ मलिन भयो । सधैँ स्कुलबाट घर आएपछि आँगनबाटै ‘हजुरआमा काँ’हुनुहुन्च’ भन्दै भित्र पस्ने सबललाई आज त्यो अस्वाभाविक दृष्यले मनभित्र चिसो बतास चलायो । चुपचाप हजुरआमाको पछ्यौरा समाउँदै झोलै नबिसाई भुइँमा थपक्क बस्यो ।