मर्न डराउँछु आमा
बाँच्नु अझै छ र त, मर्न डराउँछु आमा,
हिँड्नु अझै छ र त, मर्न डराउँछु आमा।
एकबारको जुनी यो, सिकाई माग्नु कति छ,
भ्याउनु अझै छ र त, मर्न डराउँछु आमा।
पाउँछौ जति थपेर देउ, भन्नु भा’को होइन?
फर्काउनु अझै छ र त, मर्न डराउँछु आमा।
कुरीतिको मियो घुम्दै, दाइँ गर्दैछन् गोरू,
फुकाउनु अझै छ र त,मर्न डराउँछु आमा।
बलियाले थिच्न कहाँ, छोडेछ र निर्धालाई,
लड्नु अझै छ र त, मर्न डराउँछु आमा।
