चन्द्रप्रसाद भट्टराई
सिकाइएका कुरा, सिकेका कुरा
पपुआ न्यू गिनीको पश्चिमी पहाडी प्रान्तको राजधानी सहर माउन्ट हागेनमा मेरो पहिलो रात अर्थात सन् दुई हजार दुईको फेब्रुअरी छ तारिकको रात हाइल्यान्ड्स पार्क मोटेलमा बित्यो । त्यस देशको सरकार र संयुक्त राष्ट्रसङ्घबीचको सम्झौता बमोजिम मेरो आवासको व्यवस्था सरकारले नै गरिदिनुपर्ने थियो । विदेशी सल्लाहकारहरूलाई सामान्यतः सुरक्षित क्षेत्रभित्र दुईतीन वटा बेडरुम भएको सुविधासम्पन्न घर दिने गर्दथे । मलाई चाहिँ सुरूको अढाई महिनाका लागि त्यो होटेलमा नै बस्ने बन्दोबस्त गरिदिएका रहेछन् । म त्यहाँ पुगिसकेपछि मैले नै त्यस सहरमा भएका घरमध्ये जुन छान्दथेँ त्यही लिइदिने सुर रहेछ उनीहरूको ।
