पपुआ न्यू गिनीको पश्चिमी पहाडी प्रान्तको राजधानी सहर माउन्ट हागेनमा मेरो पहिलो रात अर्थात सन् दुई हजार दुईको फेब्रुअरी छ तारिकको रात हाइल्यान्ड्स पार्क मोटेलमा बित्यो । त्यस देशको सरकार र संयुक्त राष्ट्रसङ्घबीचको सम्झौता बमोजिम मेरो आवासको व्यवस्था सरकारले नै गरिदिनुपर्ने थियो । विदेशी सल्लाहकारहरूलाई सामान्यतः सुरक्षित क्षेत्रभित्र दुईतीन वटा बेडरुम भएको सुविधासम्पन्न घर दिने गर्दथे । मलाई चाहिँ सुरूको अढाई महिनाका लागि त्यो होटेलमा नै बस्ने बन्दोबस्त गरिदिएका रहेछन् । म त्यहाँ पुगिसकेपछि मैले नै त्यस सहरमा भएका घरमध्ये जुन छान्दथेँ त्यही लिइदिने सुर रहेछ उनीहरूको ।
मलाई दिइएको तेइस नम्बरको त्यो कोठा होटेल व्यवस्थापकका लागि बनाइएको घरैका छेउमा थियो । त्यहाँ भएका कोठाहरूमध्ये सबैभन्दा राम्रो, शान्त र सुरक्षित थियो । होटेलका व्यवस्थापक सिटी क्वेक नामका एकजना सिङ्गापुरे चिनीया थिए ।
भोलिपल्ट सिटी क्वेकले र मैले रातिको खानासँगै बसेर खायौँ । खाइसकेपछि पनि धेरै बेर कुरा गरेर बितायौँ । उनले बुद्ध धर्मका र हिन्दू धर्मका विषयमा कुरा उठाएकाले मलाई अति नै खुसी लाग्योे । को हुन बुद्ध, के हो बौद्ध धर्म, के हो हिन्दू धर्म भन्ने जस्ता कुरा सरदर पपुआ न्यू गिनीयाहरूका दिमागमा हत्पत्ति चढ्ने विषय नभएका हुँदा त्यस्ता विषयहरूमा लामो समयपछि कसैसँग कुरा गर्न पाएको थिएँ । त्यहाँका पढेलेखेका मान्छेहरूसँग त्यत्रो संगत गरियो कसैले यस्ता कुरामा न केही जानकारी राखेको न त्यसका लागि कुनै चाख देखाएको पाइयो । आफ्नो गाउँ उनीहरूलाई अत्यन्त प्यारो हुन्छ, त्यहाँका कुरा उनीहरू जान्दथेँ । अलिक पढेलेखेकाले प्रान्तका कुरासम्म जान्दथेँ । त्यसदेखि उप्रान्त अरू देशका कुराप्रति उनीहरूले खासै चासो राखेको र त्यस्ता कुरा उत्ति जानेको देखिएन । त्यसदेशको पाँच छ महिनाको बसाइमा भेटिएका सबैखाले मान्छेहरूसँग कुरा गर्दा नमरेको धित सिटीसँगको दुई घन्टाको कुरागराइमा केही मर्यो ।
सिटी पैँसठ्ठी काटिसकेका बुढा थिए । उनी सिङ्गापुरबाट चौध वर्ष अघि पपुआ न्यू गिनीमा आई बसिरहेका रहेछन् । त्यो रात हाम्रा कुराकानीका सिलसिलामा उनले मेरो कामका विषयमा पनि सोधे । मैले भनें, “मैल प्रान्तीय सरकारलाई खास गरी तीनवटा काममा मैले सघाउनु पर्ने हुन्छ । उनीहरूलाई आर्थिक व्यवस्थापनका विषयमा सल्लाह दिनु मेरो मुख्य काम हो । सरकारका उच्चतहका अधिकृतहरू र अरू सम्बन्धित कर्मचारीहरूलाई अष्ट्रेलियाली सहयोगको एउटा प्रोजेक्टले आर्थिक व्यवस्थापन विषयमा दिने गरेको औपचारिक तालीमको अनुगमन गर्नु मेरो दोस्रो काम हो । मेरो तेस्रो काम भने निकै चाखलाग्दो छ, त्यो के हो भने ती तालीम पाएका मान्छेले आउँदा दिनहरूमा आˆना काम गर्दा कुनै गाह्रोसाँघुरो पर्यो भने उनीहरूलाई आफूसँगसँगै राखी सिकाएर त्यो गाँठो फुकाइदिनु । ”
मेरो कामका बारेमा सुनिसकेपछि सिटीले भने, “मैले तपाइँलाई हतोत्साहित गर्न त खोजेको होइन तर एउटा सत्य कुरा चाहिँ भन्नै मन लाग्यो । त्यो के हो भने तालीम दिने काम अत्यन्त गाह्रो काम हो यस देशमा । तपाईले एक वर्ष तालीम दिनु भयो भने पनि काममा खासै सुधार हुँदैन । पहिलो कुरा त राम्रोसँग ध्यान दिएर सिक्तैनन् । सिकिहाले भने व्यवहारमा लगाउन एकदमै गाह्रो छ । यस कुरामा तपाईको सफलताका लागि मेरो शुभकामना छ ।” त्यसपछि हामी छुटि्टयौँ, उनी आफ्ना निवासतिर लागे, म पनि आफ्नै कोठातिर गएँ ।
अफिस जान थालेदेखि नै मेरो पहिलो काम सुरू भयो । म सरकारको वित्तिय स्थितिको अध्ययन गर्थेँ र आफूले पाएका तथ्याङ्क र सूचनाहरूका आधारमा सरसल्लाह दिन्थें । रहँदै बस्तै जाँदा अस्ट्रेलियाली प्रोजेक्टका मान्छे अफिसका कर्मचारीहरूलाई आर्थिक व्यवस्थापन सम्बन्धी विभिन्न तालीमहरू दिन आउन पनि थाले । ती तालीम कुनै हप्तादिनका हुन्थे भने कुनै दुई तीन हप्ताका पनि हुन्थे । त्यस्ता तालिमका क्रममा हुने गरेका क्रियाकलापहरूको मैले नजिकबाट अनुगमन गर्न थालेँ । ती तालीम पाएका कर्मचारीहरू आ-आफ्ना अफिसमा फर्केर सिकेका कुरा व्यवहारमा लागू गर्छन् कि गर्दैनन् भनी हेर्नुपथ्र्यो ।
कार्यालयको काम सम्बन्धमा दिइएका तालीमका बारेमा मेरो केही गुनासो रहेन । कक्षाकोठामा चाख मानेरै सिक्थे । सिकेका कुरा काममा राम्रैसँग प्रयोग गर्थे पनि । सिटिले किन पूर्वाग्रही भएर तिनका बारेमा त्यसो भनेका होलान् भन्ने कुरा मेरो मनमा आइरहन्थ्यो तर अफिसका तालिम बाहेकका अरू दुइटा तालिमका सन्दर्भमा भने सिटिले भनेका कुरामा मेरो अनुभव अविष्मरणीय रह्यो । तीमध्ये पहिलो सन्दर्भ हो खानेकुरा पकाउनेको र दोस्रो हो सामाजिक सुधारको ।
म हाइल्याण्ड्स पार्क होटेलको रेष्टुराँमा नै खान्थेँ । त्यो होटेल सन् १९६५ तिर अर्थात् उपनिवेशकालमै जर्जी र बब विल्सन नामका अष्टे्रलियाली जोडीले बनाएका रहेछन् । धेरै वर्षसम्म उनीहरूले नै चलाएछन् । त्यसपछि केही वर्ष अरू नै अष्ट्रेलियालीहरूले पनि चलाएछन् । अष्ट्रेलियालीहरूले होटेल चलाउँदा स्थानीय केटाहरूलाई कन्टिनेन्टल खाना पकाउन सिकाएका रहेछन् । तर वषर्ाैं अघि त्यो होटेल अष्ट्रेलियाली मालिकहरू र व्यवस्थापकहरूले छाडेछन् । पपुआ न्यूगिनीया व्यवस्थापकहरूको हातमा परेपछि नयाँ व्यक्तिहरूलाई राम्रोसँग सिकाउन छाडेछन् । त्यसैले हिजोआज कन्टिनेन्टल खानाको स्वाद त्यति राम्रोसँग निकाल्न सक्तारहेनछन् । मलाई कन्टिनेन्टल अथवा पश्चिमा खाना राम्रो गरी पकाएका छन् नै भने पनि दुईचार दिन लगातार खाएपछि मिठो लाग्न छाड्थ्यो । त्यहाँ पनि त्यस्तै भयो । हप्तादिन जति हाइल्याण्डस् पार्क होटेलको रेष्टुराँको खाना खाएपछि जिव्रोलेे त्यसको साटो आफ्नै स्वादका खानेकुरा खोज्न थाल्यो ।
माउन्ट हागेन सहरको तरकारी बजारमा राम्राराम्रा तरकारी देखिन्थे । त्यहाँको पहाडी हावापानीमा हाम्रो नेपालको पहाडी क्षेत्रमा फल्ने जस्ता तरकारी मजाले पाइन्थे । केही दिन अघि मात्र आफूले छोडेर आएको सिम्बु प्रान्तको राजधानी कुण्डिअवाको बजारमाभन्दा पश्चिमी पहाडी प्रान्तको राजधानी माउन्ट हागेनको बजारमा पाइने तरकारी अझ धेरै थरिका हुन्थे । ती झन राम्रा गुणस्तरका हुन्थे र त्यहाँ अझ धेरै परिमाणमा आउँथे । त्यहाँ सधैँजसो काउली हुन्थ्यो, व्रोकोली हुन्थ्यो, वन्दाकोपी हुन्थ्यो, गोलभेंडा हुन्थ्यो, कुरिलो हुन्थ्यो । गाजर, भिडेखोर्सानी, आलु, हरियो केराउ, घिउसिमी, हरियो प्याज, लसुन, अदुवा पनि चाहिएजति पाइन्थे । हुन पनि माउन्ट हागेनको तरकारी बजार त्यस देशकै सबभन्दा ठूलो तरकारी बजार थियो । पोर्ट मोस्र्वीका डिपार्टमेन्ट स्टोरहरूमा सोध्नुभयो भने त्यहाँ पाइने तरकारी कि त अष्ट्रेलिया-न्यूजिल्याण्डबाट आएका हुन्थे कि त माउन्ट हागेनबाटै ।
एसियालीहरूले खाने खानेकुराका परिकारहरू अष्टे्रलियाली वा अरूले खानेभन्दा फरक र त्यसमाथि दक्षिण एसियाका त झनै फरक हुन्छन् भन्ने कुरा सिटी क्वेकले राम्ररी बुझेका थिए । म त्यहाँ पुगेको दश दिन जति पछि एकदिन उनले मलाई भने, “तपाईलाई आˆनै खालका खानेकुरा खान मन लाग्दो हो । भित्र भान्साकोठामा जानु भई केटाहरूलाई अह्राएर आफ्नो स्वाद अनुसारका खानेकुरा पकाउन लगाएर खानु भए हुन्छ नि । यस होटेलको भान्साकोठालाई तपाईले आफ्नै घरको भान्साकोठा ठान्नु भए हुन्छ ।”
उनको होटेलको भान्साकोठामा कोही पाहुना पस्नु त परै जाओस् कसैले त्यहाँ चियाउनसम्म पनि पाउँदैनथ्यो । म लामो अवधि बस्ने भएर होला र भिन्नै तरीकाले पकाइएका खानेकुरा खानुपर्ने खालको विदेशी मान्छे भएर होला उनले मलाई त्यो सुविधा दिए । खासमा त्यसलाई मैले सुविधाभन्दा पनि एउटा सम्मानकै रूपमा लिएको थिएँ ।
सिटिको होटेलका भान्सेहरू राइस कुकरमा भात पकाउन जान्दथे । कुखुरा वा भेडाको मासु राम्रोसँग गि्रल गर्न जान्दथे । हरिया काँक्रा, गाजर, गोलभेडाको सलाद बनाउन जान्दथे । तर तरकारी पकाउनु पर्दा चाहिँ तिनीहरूको ढङ्ग नपुगेर बजारमा त्यस्ता राम्राराम्रा चीजबीज पाइए पनि उसिनेर विगार्थे । ढङ्ग पुग्दो हो त कुरिलोको चखिलो सुरुवा बनाई सुरूपसुरूप पिएर जाडोमा जीउ तताउन सक्थे । गोलभेंडा र लसुनको ट्वाक्क परेको अचार बनाई भातसँग चाट्न सक्थे । चिसो हावापानीमा फलेका ताजा काउली र आलु स्वादिलो पारी हरियो प्याजसँग तार्न सक्थे । हरियो सिमि, हरियै प्याज र राता गोलभेँडामा लसुन अदुवा मिसाएर स्वादिष्ट लेदोबेदो तरकारी पकाउन सक्थे । तर माल पाएर के गर्नु चाल पाए पो । त्यसैले मैले एउटा तरकारी मात्र राम्रोसँग पकाउन सिकाएँ भने मिठो गरी भात खान पाइन्थ्यो होला, अरू कुरा त जे छ त्यही चल्छ भन्ठानेँ । सिटीले पनि यो सल्लाह दिएकै थिए । त्यसै अनुसार होटेलका भान्से केटाहरूलाई नेपाली पाराको तरकारी पकाउन सिकाउन मन लाग्यो ।
हप्ताको अन्त्यको दुईदिने छुट्टी आयो । शनिवारको बिहान होटेलको ठूलो भान्साकोठामा पसेँ । भान्साकोठा आधुनिक र सुसज्जित थियो । त्यहाँ बिजुलीबाट चल्ने धेरै उपकरणहरू थिए । पकाउने थुप्रै चुलाहरू थिए । बडाबडा पि|mजहरू थिए । पकाउने टेबुलहरू पनि यथास्थानमा थिए । किसिमकिसिमका भाँडाकुँडाहरू पनि ठाउँठाउँमा मिलाएर राखिएका थिए । एउटा कुनामा भाँडा माझ्ने मेसिन थियो ।
म पुग्दा सिटी क्वेकका चारजना भान्से केटाहरू भित्रै रहेछन् । तिनीहरूलाई नेपाली स्वादको तरकारी कसरी पकाउने भन्ने देखाउनु थियोेँ । उनीहरूलाई सिटीले पहिला नै यो कुरा भनिसकेका रहेछन् । त्यसैले उनीहरू त्यो बिहान मैलाई पर्खेर बसेका रहेछन् भन्ने कुरा त्यही पुगेर थाहा पाएँ । केको तरकारी पकाउन सिकाउने होला भनेर सोचेको मात्रै के थिएँ त्यसै दिन ल्याएर टेबुलमा फिँजाएर राखेका तरकारीमा आँखा परे । थरिथरिका तरकारीका माझमा बारीवाट भर्खर टिपेर ल्याएका हरिया झर्झराउँदा भिँडे खोर्सानी, राता चिल्ला ठूल्ठूला गोलभेंडा र ताजा हरियो प्याजका मुठा देखेँ । कुण्डिअवा छोडेपछि आफैंले पकाउन नपाउँदा मिठो गरी तरकारी खान नपाएको दुई हप्ताभन्दा बढी भैसकेको थियो । भान्सामा ती देेखेपछि मुखमा पानी नै रसायो । अनि त्यो दिन भिँडे खोर्सानीकैे तरकारी पकाउने सुर गरेँ । भान्से केटाहरूलाई त्यो कुरा भनेँ ।
