Skip to content

डिल्लीराम बाँस्तोला

नाउरा भिरमा बाह्र वर्षपछि

  • by

२०६५ साल माघ ४ गते अहिलेसम्म रहस्यमय जीवको रूपमा रहेको यति (हिउँमानव) सँग सम्बन्धित डकुमेन्ट्री छायाङ्कन टोलीको साथ म काठमाडौँबाट विदेशी पर्यटकका साथ म्याग्दी जिल्लाको मुरीतर्फ प्रस्थान गरेँ । यस टोलीले खासगरी धौलागिरी हिमालको पश्चिमतर्फ रहेको कुनावन खर्क, दोभान र सल्लाघारी आसपासका हिमाली एवं जङ्गली क्षेत्रहरूमा रहस्यमय जीव यति को खोजवीनलाई केन्द्र बिन्दुमा राखेर यस स्थानका रमणीय प्राकृतिक सुन्दरता जीवजन्तुहरू, वातावरण एवं रहस्यमय जीवबारे देखे सुनेका व्यक्तिहरूसँग छायाङ्कन गर्ने कार्यक्रम थियो । करिब १२ वर्षअघि धौलागिरी हिमालको वेसक्याम्पतर्फ पदयात्रा गर्ने क्रममा झण्डै झण्डै ज्यान गुमाएको हुँदा मलाई सो स्थानमा कस्तो परिवर्तन भयो होला भनेर जान्ने अभिलाषा जागेको थियो । त्यसैले पनि म त्यसतर्फ जान हौसिएको थिएँ ।