छुच्याइँले सर्वनाश
सानाचौरका साइँलाबूढा साह्रै छुच्चा थिए । अनिकाल महाकाल पर्दा पनि आफ्ना विश्वासिला छिमेकीलाई समेत ऐँचोपैँचो त के चौपाँजे पनि दिन्नथे । एकदिन धैयारे पखीर सेजवाल आफ्ना लालबाला भोकले छट्पटिन लागेको अवस्थामा धोक्रो काँधमा राखेर सानाचौर निस्केछन् । साइँलाबूढाका घरभित्र पसेर उनलाई ढोगभेट गरेपछि आफू अनिकाल लागेर पाथीचार कोदो माग्न आएको कुरा दर्शाएछन् ।
