Skip to content

डा. खेम दाहाल

‘मनको मझेरी’मा बस्दा

  • by

नवराज सुब्बाको ‘मनको मझेरी’ -२०६४) वाणी प्रकाशनबाट प्रकाशित निबन्धसङ्ग्रह हो । यस कृतिको लोकार्पण २०६४ साल माघ २८ गते विराटनगरमा भएको हो । उक्त कार्यक्रममा सुब्बाको पुस्तक पनि वितरण गरिएको थियो, उपहार स्वरूप किताब दिनु राम्रो हो र मन फराक रहेछ भन्ने परिचय पनि हो । लोकार्पण गर्ने काम मात्र गर्ने र पुस्तक वितरण नगर्ने वृत्ति उस्तो राम्रो होइन, कन्जुसीको एउटा उपशाखा हो । तर नवराज सुब्बाले पुस्तक बाँडेर मनको मझेरीमा बसाएका छन्, अबको पुस्ताले मझेरी, पिढी, दलान, चौको बिर्सन्छन् भन्ने लागेको बेला मझेरीमा बसाइदिएर मन हलौं पार्ने काम गरेका छन् । हामी केटाकेटी उमेरमा मझेरीमा बसेर कालो ढिँडो दूधमा चोब्दै खान्थ्यौं, अब ती दिनको सम्झनाले स्वर्गीय आनन्द मिल्छ ।