दस हजार तालको राज्यमा घुम्दा
छोरा प्रज्वलमानको आतिथ्यमा यसपालिको ‘समर सिजन’ मिनेसोटा राज्यको सेन्ट पल सहरमा, उसको आमासँगै उसैकहाँ हामी छुट्टी मनाइरहेका थियौं । छुट्टीको दौरान मिनेसोटा राज्यको प्रायः केही रमणीय ठाउँहरू घुमियो । यस राज्यलाई दश हजार तालहरूको राज्य भनिँदो रहेछ । राज्यको चिनारी भनेकै त्यही दश हजार तालहरू रहेछन् । हुन पनि घरबाट निस्केर १०।१५ मिनेटको ‘ड्राइभ’ मा नै चार-पाँचवटा ताल बाटोवरपर देखिन्छन् । आफूले देखेका तालहरूमा राज्यको उत्तरतिरको सहर दुलुथको सुपेरियर लेक एक हो । नामले लेक भए पनि यो ताल समुद्र जस्तै विहङ्गम छ । ताल फैलिएर राज्यको तलतिर पर्ने शिकागो राज्यको तालसम्म फैलिएको छ । अरू नजिकका रमणीय तालहरूमा मिनेटोङ्का, क्यालहन, हेरियट, माइल लेक र रामसे बीच रहेका छन् ।
