Skip to content

गलबन्दी

चुरोट : केही झिलिमिली संस्मरण

एकातिर बैँशदार मायालुको ओठ, अर्कोतिर गैँडामार एक कित्ता नोट, माझमा एक बुट्टा मोटरमार चुरोट- यी तीनै थोक अहिले अगाडि परे भने पहिले म कुनचाहिँ टिपुँला ? निद्राविहीन एक रात बाह्र-एक बजेतिर मेरो दिमागमा एउटा प्रश्न गुजुल्टयो । निकैबेर झ्यालको डँडाल्नीमा ट्वालट्वालती हेरेर तरङ्गिएपछि एक्लै खिसिक्क ओठ फुस्क्यो- कहाँ पालिसदार हीरा, कहाँ झुसिलकीरा ! जाबो दुईपैसे चुरोटको पनि कहीँ बैँसदार ओठ र गैँडामार नोटसँग तुलना हुन सक्छ ?

‘उडाउनु’ सित एकछिन उड्दा

एउटा देशले भूउपग्रह उडाएकै दिन मेरो घरमा बिरालाले दूध उडाइदिएसछ । सन्जोग पनि कहिलेकाहीँ कस्तो पर्छ भने एउटा बिनासित्तिको कुराले पनि एकछिन सित्तैँ अलमल्याइदिन्छ ।

साँढे

हिन्दुहरुले साँढेलाई महादेवको निजी वाहनको पदमा नियुक्त गरिदिएका छन्। महादेवलाई वाहनको आवश्यकता थियो-थिएन दैव जानोस्,तर आफूलाई जेजे चाहिन्छ देवीदेवताहरुलाऐ पनि त्यही चाहिन्छ भन्ने मान्छेको धारणा रहँदै आएको छ। आफू घोडा, हात्तीमा चढ्ने हुँदा हाम्रा पुर्खालले आफ्ना देवीदेवताहरुको लागि पनि चढेर हिंडने एकोटा जनावरको प्रबन्ध गरिदिएका छन्। जस्तै- विष्णुलाई गरुड, देवीलाई बाघ, यमराजलाई राँगो र गणेशलाई मुसो। आजको जमाना हुँदो हो त विष्णुलाई गरुडको सट्टा हेलिकोप्टर दिइँदो हो। यस्तै आरुलाई पनि दर्जा हेरी कार, स्कुटर, रिक्सा, साइकल आदि वितरण गर्दै गणेशजीलाई चाहिं गाडाकै प्रबन्ध गरिन्थ्यो कि? भन्नाको मतलब आजका हिन्दूले महादेवको बन्दोबस्त गर्नुपरेको भए वा महादेव अहिलेसम्म रहेका भए त्यही साँढे चढी के हिंड्दा हुन्? यताउति हिंड्न कमसेकम एउटा मर्सिडिज कार र हिमालयमा ससुराली जान एउटा विशेष किसिमको हेलिकोप्टर त उनीलाई चाहिन्थ्यो, चाहिन्थ्यो। तर जान दिऊँ उस बेला जे भयो, भयो। महादेवको विशेष वाहनमा श्रीमान् साँढे नै नियुक्त भयो।