पाहुनामहात्म्य
पाहुनाको पिरोलोले पिरोलिएकी मेरी श्रीमतीले एक दिन प्रस्ताव राखी–‘डेरा सरूँ अर्को कुनै टोलतिर ।’
हुन पनि उसको इच्छा सारै मनासिब थियो । लगातार पाहुनाको धुइरोले गर्दा उसको मगज चढेको थियो । उसलाई थामथुम पार्न सक्ने मेरो हबिगत सकिएको थियो । मलाई पनि पाहुनाको समस्याले उभिन्ड्याइसकेको थियो । तर म भने कसै गरी थामिरहेको थिएँ । कुनै दिन पनि पाहुनाले एक्लै रहनै दिएका थिएनन् । कोही म्यानपावरका लागि अन्तर्वार्तामा आएका, कोही छोराछोरीको बिहेका सामान किन्न आएका, कोही औषधी उपचार गर्न आएका, कोही भिसा र पासपोर्ट बनाउन आएको त कोही केटी हेर्न आएका कोही प्रेमको फर्माइसका लागि । साँझ पर्नै पाउँदैन एक न एक जनाको आगमन भइहाल्छ ।
