Skip to content

काउकुती (हाँस्य-व्यंग्य संग्रह)

जय भोलि !

पर्सिको हिजो र हिजोको पर्सिलाई ‘भोलि’ भन्दछन् । समयको अनन्त गतिमा यसरी भूत र भविष्य दुवैतिर उस्तै सन्धि-नातो लाउने हुनाले आजभन्दा भोलि ज्यादै जनप्रिय छ । भोलानाथको झोलीजस्तो भोलिको आशामा मानिस बाँच्छ, केही गर्छ र भोलिको निम्ति केही साँचेर मात्र मर्न चाहन्छ । आज थाकेको मानिस अनेक थरी सपना तुन्दै भोलिको निम्ति निदाउँछ, तर भोलिपल्ट ब्यूँझँदा उसको भोलि आज बनेको हुन्छ, फरि ऊ अर्को भोलिको निम्ति दगुर्छ ।

नाम फर्ने धुनमा

“धनपति मागे भीक, मेरो नाउँ ठीकका ठीक” भनेझैँ मलाई पनि एकपल्ट आफ्नो नामदेखि साह्रै जङ चलेर आयो । आफू देख्दा बकुल्लोजति गोरो छु, तर मान्छे भनिदिन्छन् ‘कालू’ । सलसलाउँदी युवतीलाई ‘छयाके पुतली’भन्दा कति जाग्लिन् ? अनि म नजागूँ कसरी ! अचेल कसैको नामको पुच्छर काटेर ठुटे गराएका छन्, कसैले भने भएको पुच्छरले नपुगी अर्को पुच्छर गाँसेर द्‍विपुछ्रे हुनुपरेको छ । अँझ कोही नाममा भए-नभएको टुपीसमेत गाँसेर ठूलाबडाको झन्डा फहराउँछन् ।

चरिचुच्चे ‘च’

दन्त्यकथामा आकाशबाट फुलौरा बर्सेझैँ अन्त्यकथामा एकताका पातालबाट नेता बर्सन्थे । काला, गोरा, ध्वाँसे, छिर्बिरे, फ्याँते, फोक्से, चुच्चे, नेप्टे, भँगेरे, चमेरे- जस्तो नेता खोजे पनि त्यति बेला पाउन सकिन्थ्यो । साँच्ची भनूँ भने तिनताक नूनमा कन्ट्रोल भए पनि नेतामा थिएन । पार्टीमा बास नपाए पनि पार्टीमा त खास पाइन्थ्यो । त्यसैले म कुरा झिक्तै छु त्यही झालेमाले दशाब्दीको ।