दशैं र अबोध फ़ुच्चे
दशैं आउँने बेलाको मौसम साँच्चीकै रमाईलो हुन्छ । भौगोलिक हिसाबले पनि नेपालमा दशैं मान्नकै लागि प्रकृतिले सबै कुरा जुराई दिएको हो कि जस्तो लाग्छ । तर…. तर…. त्यहींका धेरै जसो जनताका लागि प्रत्यक बर्ष दशैं, दशैं हैन दशा बन्ने गरेको छ ।
फुच्चे ! पोहर, परारतिर त सानै भएकोले हामी गरिब छौ भन्ने थाहा पनि थिएन र उस्लाई के दशैं, के तिहार मतलब पनि थिएन । आमाको बाबुले अटम भर्दै आएको फुच्चेले यो पालीदेखि आमालाई कल्पनै नगरेका प्रश्नहरू एक पछि अर्को गर्दै सोध्न थालेको छ । पुच्चेले अरु सबै सोधे पनि हाम्रो बाबा खोई ? भनेर नसोधे हुँदो हो भन्ने उसको आमालाई ठूलो जलतराश थियो अर्थात चिन्ता लागिरहेको थियो ।
सुख र खुसी कुन चराको नाम हो ? भन्ने थाहा नै नभएको फुच्चेकी आमाले दशैं र तिहार त झन मान्नै बिर्सेकी थिई । बिहान के खाउँ, बेलुकी के खाउँ भईरहने फुच्चेकी आमा साहुहरूको खेतबारीमा काम नजुरेको दिन त व्रत बसेर दिन काट्दै आएकी थिई । अब त छोरोलाई पनि त्यो गुन्युको भोटो सानो हुदै आएको थियो । फुच्चेलाई गतिलो कमिज र जाँघेको जोह गर्न नपाउँदै दशैं नजिकिएको मार फुच्चेकी आमालाई पर्नु परेको थियो ।
