अन्तर्वार्ता
काम नपाएका झोँकमा हल्लँदा हल्लँदै एक दिन हाम्रा मामाले पनि पत्रिका निकाल्ने कम्मर कस्नुभो । मासिक, द्वैमासिक र त्रैमासिक अनगिन्ती भएकोले र पञ्चायती प्रजातन्त्रमा पाञ्चमासिक चाहिँ एउटा पनि नभएकाले त्यस महत्वपूर्ण अभावको पूर्ति गर्ने निधो भयो र नाम रह्यो– “हुटिट्याउँ” । यसलाई विज्ञापन प्रधान गराउने कुरामा पनि सहमति भै हाल्यो । प्रधान सम्पादकमा मामा स्वय म घोषित हुनुभयो र उहाँले माइजूको प्रकाशकत्वमा ७ जनाको एउटा हुटिट्याउँ परिवारको गठन गर्नुभो, जसको सदस्यमा एकजना म पनि नपरिरहन सकिनँ ।
