Skip to content

छरिएका पाइला कोरिएका डोब

मेची किनारको जङ्गे पिलर

‘भाइ सा’ब, भाइ सा’ब’ कसैले उतर्सिएर कराएजस्तै लाग्यो ।

मैले दुईसट मारिसकेको क्यामेरा हातमा झुण्ड्याएर यताउता हेरेँ । एउटा भारतीय सैनिक मेरो नजिक आइरहेको थियो ।

‘आप फोटो नही खिच सकते ।’ गाईवस्तुलाई तह लगाउँदा जसरी उसले हातको लौरो मतिर तेर्सायो ।

‘मैले त यो जङ्गेपिलरको फोटो खिचेको ।’ मैँले आफ्नो सफाइ पेश गरेँ ।
‘नही खिच सकते ।’ उसले मेरो हातको क्यामेरा खोस्ला जसरी अगाडि बढ्दै थियो ।

सुन्तलेको उकालो र दिङ्गलाको ओरालो

सम्बत् २०६९ साल असार १६ गते । भोजपुर जान एयरपोर्टभित्र छिरेर धेरैबेर पर्खियो । सहकर्मी थिए श्याम डंगोल र हिरा महर्जन ।

धेरै जनाले भोजपुर नजानुस्, टिकटै पाउन कठिन छ भनिदिनाले भोजपुर यात्राको आसै मरिसकेको थियो । टिकट पाइहाले पनि उडान बढी क्यान्सिल भइरहन्छ भन्ने सुनेर त्रास बढेको थियो । बर्खाको समयले अनिश्चितताको बादलमाथि अर्को तह थपिदिएको थियो । अन्ततः एघार बजेतिर सबै अनिश्चितता हटाउँदै प्लेन उड्यो ।