भूपीको सम्झना
“सबै बाटा रोमतर्फ लाग्छन्” भन्ने अंग्रेजीे उखानजस्तै शिक्षाका लागि त्यस बखत नेपालका सबै बाटा वनारसतर्फ लाग्दथे । तिनैमध्ये एउटा बाटो थाक खोला, पोखरा, बुटवल, भैरहवा र सुनौली हुँदै वनारसतर्फ लागेको थियो । त्यही बाटोले एउटा हृष्टपुष्ट थकाली केटोलाई वनारसतर्फ डोर्यायो । उसको नाउँ भुपेन्द्रमान शेरचन थियो । उसमा साहित्यिक प्रतिभाहरू जतिजति प्रस्फुटित हुँदै गए उसका नाउँ पनि परिमार्जन हुँदै गए । उसले नाटक लेख्यो “परिवर्तन” र आफ्नो विचारधारामा प्रगतिशीलता ल्याएअनुरूप नाउँ पनि परिमार्जन गर्यो, भुपेन्द्रमान शेरचन “सर्वहारा”। भूपी शेरचन भन्ने नाम त पछि मात्र रहन गएको हो ।
