भ्रष्टाचार, भ्रष्टाचारी, श्राप र सुभकामना !
भ्रष्टाचार शब्द “भ्रष्ट” र “आचार” दुई शब्द मिलेर बनेको छ । यी दुई शब्द मध्ये पहिलो शब्द “भ्रष्ट”मा शक्ति केन्द्रित हुनाले त्यसमा जोडिएर आएको “आचार” शब्दलाई उसै “भ्रष्ट” शब्दले आफ्नो गुरुत्वबलमा पारेको देखिन्छ । होइन भने “भ्रष्ट” र “आचार” शब्दलाई अलग अलग बुझ्दा यसले दिने अर्थ बिल्कुल भिन्न हुन आउँछ र मूलत “भ्रष्ट” शब्द अरु बढी ब्यापक बन्न जान्छ । “भ्रष्ट”ले बाटो बिराएको र समाजले बर्जित गरेको काम गर्ने भन्ने जनाउँछ भने “आचार”ले व्यक्तिको आचरण भन्ने बुझाउँछ । तथापि त्यो आचरण भ्रष्ट व्यक्तिको होस् या सदाचारीको, यसमा कुनै भिन्नता हुँदैन । यसर्थ, भ्रष्ट व्यक्ति तपाईं, हामी जो कोहि पनि हुन सक्छौं किनकि बाटो बिराउने जति सबैलाई भ्रष्ट्राचारी नै भन्ने गरिन्छ । नेपालको परिप्रेक्ष्यमा भने भ्रष्ट्राचारी उनैलाई मात्र मानिन्छ जस्ले सार्वजनिक पद धारणगरि पदीय दुरुपयोग द्वारा अर्थोपार्जन गर्दै आएका छन् । यस्मा लिने र दिने दुबै पक्ष्यलाई भ्रष्टाचारी मान्नुपर्ने हुन्छ । भनिन्छ – “ लाउकेले लाउ दिएर नै नाठो पल्कने हो ” । तर हामीकहाँ लाउके भन्दा नाठो नै शक्तिशाली बन्दै आएको देखिन्छ । लाउकेले लाउ दिनै पर्दैन, नाठोले नै जबर्जस्ती लाउ दिन बाध्य पार्छ र खुलेआम लाउकेलाई लुट्छ । दुबै आ-आफ्ना धर्ममा हिंड्दैनन् र पथभ्रष्ट भैदिन्छन् जस्का कारण भ्रष्टाचारले झाँगिने मौका पाउँछ । नाठाहरू खुलेआम भन्छन् – “मैले उस्लाई लुटिन भने अरुले नै लुट्छ । यसै उसै ऊ त लुटिनु नै छ । यसैले अरुले लुट्ने साटो मैले नै किन नलुट्ने ?” नाठाहरूको चित्तमा यही भावनाले जरो गाडेको हुँदा थोरै यसको भनक लाउकेले पनि पाएकै हुन्छ र ऊ धेरै थोरै लुटाउन तयारै हुन्छ । यहाँ, लाउकेका रुपमा नेपाली जनता, संघ संस्था तथा सरकारी निकायबाट काम लिनुपर्ने जति सबै समुदाय र नाठोका रुपमा सरकारी कर्मचारीलाई उभ्याएर हेर्दा माथी भनिएको कुरा ठीकै हो कि जस्तो पनि देखिन आउँछ ।
