नेपाल मण्डलमा हनुमान
संस्कृत व्याकरणअनुसार ‘हनु’ धातुमा ‘मतुप’ प्रत्यय लागेर हनुमान शब्दको उत्पत्ति भएको छ । हनुको अर्थ चिउँडो हो जो हन् धातुबाट बनेको छ । ‘हन्’ धातुको अर्थ हिंसा अथवा गति भने पनि हुन्छ । अतः हनुमान शब्दको अर्थ वेगवान् गतियुक्त शक्ति भन्ने हुन्छ । हनुको अर्को अर्थ आज्ञापालक पनि भनिएको छ । त्यसैले पनि हनुमान भगवान् राम भक्त थिए भनिन्छ । भगवान् रामको जीवनमा घटित घटनाहरूले हनुमानको व्यक्तित्व विशेषताहरूले उनलाई सर्व प्रतिष्ठित ‘देव’ बनाइदियो । भय मनुष्यको मूलभूत प्रवृत्ति हो । दुष्ट आत्माको प्रकोपबाट बचाउने वाला शक्तिको नाम हनुमान हो । यो आश्चर्यजनक कुरा छ कि पहिले बाँदरको नाम स्मरण वा दर्शन अशुभ मानिन्थ्यो । गज (हात्ती) लाई शुभ मानिन्थ्यो । तसर्थ गणेशजीको गजवदन प्राप्त भयो तर मध्यकालीन परम्परामा हनुमानको महत्व वृद्धि भयो । ‘मंगलमूरत’ को रूपमा अथवा शङ्कट मोचकको रूपमा पुजन गर्न थालियो । त्यसकारण बच्चादेखि बूढासम्म सबैले भयबाट मुक्तिको लागि ‘हनुमान चालिसा’को पाठ गर्ने परम्परा सुरु भयो ।
