फ्रन्टपेजको तस्बीर
तस्बीर फ्रेन्टपेजमै छापिएछ । मेरो नजर अन्तै मोडिएको रहेछ । आकल्प चाहिँ क्यामरातर्फ नै हेरिरहेको देखिन्छ । ऊ दौरा सुरूवालमा सजिएको छ । भादगाउँले टोपी र सेतो चश्माले उसलाई असाध्यै सुहाएको छ । ऊ निक्कै नर्भस देखिन्छ । म रातो बनारसी साडीमा सजिएकी छु । टल्कने घुम्टोले मेरो शिर ढाकिएको छ । गला र हातमा प्रशस्तै गहनाहरू सजिएका छन् । यो तस्बीर हो मेरो दोश्रो विवाहको । अर्थात मेरो पुर्नजन्मको । म दोश्रोपल्ट जन्मिएँ । तस्वीरको क्याप्सन पढ्छु । यसो लेखिएको छ, – “आकल्प दाहाल उनकी बाल्यकालकी साथी आँचल श्रेष्ठसँग सोमबार वैवाहिक सम्बन्धमा गाँसिदै । आँचल दस महिना अघि विधवा बनेकी थिइन् । हिन्दू वैवाहिक परम्पराअनुसार उनीहरूको विवाह सम्पन्न भएको छ ।”
फेरि एक चोटी मेरो सिउँदो रङ्गियो । फेरि एक चोटी म रातो साडीमा बेहुली बन्न पुगेँ । मेरा हातमा काँचका राता चुराहरू बज्न थाले । हत्केलामा फेरि एक पटक मेहन्दी छापिए । म त्यसलाई गौर गरेर हेरिरहन्छु । असाध्यै चहकिलो देखिन्छ । हत्केलाका भाग्यरेखा हेर्छु । चलिरहेको चलचित्रझैँ प्रतीत हुन्छ । कस्तो लेखान्त हो यो ? म आफैलाई प्रश्न गर्छु । जीवन कस्तो लिपी हो, बुझ्नै नसकिने । पढ्नै नसकिने । एकाएक प्रश्नहरू खेल्न थाल्छन् । जीवनको रचनाकारलाई कतै भेट्टाएँ भने सोध्ने थिएँ, “आखिर किन लेख्यौ मेरै जीवन यस्तो ?”

