अतीतका ती पलहरू


अनायासै, मध्यरातमा एक्कासि म ब्यूझिएँ। सानो मैनबत्तिको धिपधिप गर्ने प्रकाशमा म केही लेख्न खोज्दै थिएँ। वातावरण सुनसान थियो। दिमागमा एकआपसमा पात्रहरू तयार भएर बसिरहेका थिए। बस् त्यसलाई कापीमा उतार्नुपर्ने थियो। छिमेकमा दुई बुढाबुढी एकआपसमा घर–सल्लाह गर्दै थिए। उनीहरूको प्रष्ट संवाद सोझै मेरो कानमा तरङ्गित भईरहेको थियो। उता उर्मि भने चाहिँ आफ्नो तन्द्रालाई अँगाल्न सकेकी थिइन। कसरी पाओस् त सुत्न। दिनभरि चर्किलो घाममा लेभरकाम गिट्टी, ढुङ्गा, इट्टा बोक्नुपर्ने बाध्यता त्यही माथि श्वासको बिमारी। उनको छोरो ‘संकल्प’ पनि बेस्सरी रूँदै थियो। उर्मि खोक्दै फुल्याउँदै थिई। त्यसलाई के भएको थियो कुन्नी थाहा थिएन।

मध्यरात। आकाशमा जुन ताराहरू लागिरहेका छन्। उज्यालो हुन लागेको हुन लागेको भाना भईरहेको थियो। चकमन्न त्यस समयमा एउटा आवाजले मलाई ब्युँझाएको थियो। गाउँमा कतै कहालीलाग्दो किसिमले कुकुर रोइरहेको थियो। त्यो कुन वेदनामा रोइरहेको थियो स्पष्ट थिएन। यसअघि मैले यसरी कुकुर रोएको कहिल्यै सुनेको थिइन।

रातको ठूलो घम्साघम्सीपछि विहानीको सूर्यको किरण मेरो ओछ्यानसम्म आइपुग्यो। उठ्न मन लागेको थिएन मलाई। त्यैपनि दैनिक कर्मकाण्डका लागि म उठेँ। बाहिर निक्कै हल्ला–खल्ला थियो। धेरै मान्छेहरू जम्मा भएका थिए, उर्मिको आँगनमा। कोही, “विचरी” अनि कोही चाहिँ, “अब यो कसरी बाँच्छ होला।” भन्दै थिए। मलाई के भएको हो भनि ठम्याउन मुश्किल पर्यो।

अचम्म! उर्मिलाई सेतो कपडाले बेरेर सुताइएको थियो। संकल्प,“आमा! आमा!!” भनेर उठाउन प्रयासरत थियो। तर त्यो कोमल आवाज उर्मिले सुनेकी थिइन। यस्तो उल्लासपूर्ण दृश्य देखेर म मलिन भएँ। अनायासै मेरा आँखाहरू रसाउन थाले। मैले आफूलाई रोक्नै सकिनँ। मैले उनको पीडादायक अतीतहरूलाई सम्झेँ।

कति दुःखी र मेहनती थिई उर्मि। कति सपनाहरू उनले मसँग सजाएकी थिई। उनलाई मेरो खाँचो थियो। उनको जीवनमा दुःख शिवाय अरू केही थिएन्। बिचरी! विहान सखारै उठ्थी। घर–कसेर लगाउँथी। हरेक सर्जाम गरेर बिहानीको खाजा तयार गर्थि। त्यही खाजाको भरमा दिनभर दुःखसँग लड्थी उर्मि। आफ्नो गर्जो भर्न दिनहुँ आफूभन्दा अजङ्गको भारी बोक्नुपर्ने बाध्यता थियो उनमा। सधैंजसो बिमारी परिरहन्थी ऊ। लाऊ–लाऊ, खाऊ–खाऊ भन्ने समयमा उनले जस्तो दुःख अरू कसैले गरेको थिएन।

ख्याउटी, पातली, दुब्ली उर्मि दिनभरिको कष्टप्रद क्षणलाई परास्त गरेर जब घर फर्किन्थी ऊ। म सधैँजसो पढिरहेको देखेर, आफ्नो सम्पूर्ण दुःख बिसाउँदै भन्ने गर्थि,“राजेश मैले पैसा जम्मा गरिसक्या छु, अब त संकल्पको स्कूल हाल्ने बेला पनि भयो होला, यसलाई नि पढ्न सिका हैं। के गर्नु! म भ्याउँदिन्। दिनभरिको कामले गलेर निद्रा लागिहाल्छ।”

लोग्ने भनाउँदो बुद्धिमान उर्मिलाई दोबाटो छाडेर कहाँ गएको थियो पत्तो थिएन। अनेकन वाचा–कसमहरू खाएर जालमा पारेको थियो त्यसले उर्मिलाई। रोमियो–जुलियट, लैला–मजनु, हिर–राँझा, सिरी–फरहद, मुना–मदन, शाहजहाँ–मुमताजजस्ताको आदर्श प्रेमलाई छविकरण गर्दै सँगै मर्ने, सँगै बाँच्ने कसम खाएको थियो उसले तर ति वाचा–कसमहरूलाई बिर्सिएर अदृश्य भएको थियो ऊ।

बिचरी उर्मिले आफ्नो लोग्नेलाई नखोजेको पनि होइन। थाना, अड्डा, प्रहरी, प्रशासन आदि सबैमा चहारेकी थिई उसले तर अफसोच भेट्न सकिन आफ्नो बुद्धिमानलाई।

उसले आफूभन्दा बढी माया गरेकी थिई बुद्धिमानलाई। उसको प्रेमका खातिर उर्मिले आफ्ना आमाबुवा, नातागोता, पढाई, मित्रजन सम्पूर्ण कुराहरूलाई त्यागेकी थिई तर अफसोच सम्पूर्ण कुराको त्याग गर्ने उर्मिलाई बुद्धिमानले विनाकारण नै त्यागेको थियो। तर महान छिन् उर्मि, यस्तो छलि संसारलाई चुनौती दिदैँ अन्ततः उनले आफ्नो नासोलाई जन्म दिने नै वाचा गरि।

“राजेश दादा! आमालाई के भो? किन आँगनमा सुत्नु भो?” यस्तो अबोध प्रश्नले म आफैँमा भस्किएँ। मैले त्यस बालकलाई कसरी ‘तेरो आमा मरी’ भनुँ। म कसरी ‘तेरो आमाले तलाई यो संसारबाट एक्लै छोडे गई’ भनुँ। म नाजवाफ भएँ। ऊ सधैँ मेरो घरमा आउथ्यो र अक्सर भन्ने गर्दथ्यो,“दादा म पनि थुलो भएर, तपाइ दस्तै कम्पुतर चलाउँछु, धेरै पध्छु र आमालाई पाल्छु।” म उसको यस्तो सपना देखेर म उसप्रति गर्भान्वित भएको थिएँ। किनकी उसको त्यो सपनामा आफ्नो आमालाई छुट्टाएको थिएन्, उसले आफ्नो आमाको दुःख देखेको थियो। तर आज ति सपनाहरू सबै चकनाचूर भएँ। खहरेमा आएको बाढीको भेलझँै उसका ती सपनाहरू भताभुङ्ग पारेर लगेको थियो। उर्मिले उसलाई टुहुरो बनाएर गएकी थिई। उसको सपनालाई तोडेर गएकी थिई।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “अतीतका ती पलहरू”

Leave a Reply

Your email address will not be published. Required fields are marked *