जता हेर्यो त्यतै अँध्यारो लाग्छ आजकल मलाई । मैले सोचेकी थिइनँ मेरो जीवन यस्तो कारुणिक बन्छ भनेर । सायद विधाताले लेखिदिएको होला यस्तो । लाचार बनेको छु म । हेर्दाहेर्दै यसरी म बर्बादीको खाडलमा कहिल्यै ननिस्कने गरी भासिन्छु भन्ने मलाई के थाहा ? यस्तो हुनुमा मेरो मात्रै गल्ती थियो र ? मैले कुन जन्ममा पाप गरेकी थिएँ र आज म लाचार भइरहेकी छु ? दश नङ्ग्रा खियाएर भएपनि, आधा पेट भरेकी थिएँ । भोको बसेरै भएपनि, मेरो विगतको जीवन धानेकी थिएँ नी ? मेरो दायित्वको मलाई ज्ञान थियो तर मलाई के थाहा मेरो जिन्दगी यति भयावह हुन्छ भन्ने कुरा ।
कति खुशी थिएँ म विगतका दिनहरूमा । आज सम्झिँदा केही राहतको महशुस हुन्छ । तर ती विगतका दिनहरू कहिल्यै फर्केर नआउने रहेछ । दुःख, वेदना र विरहका खाँदिला भारीहरू ममाथि भरिदै गए, कहिल्यै कम भएनन् । दिन, हप्ता, महिना, वर्ष र दशक हुँदै थामिदै हिडेँ उज्यालोको खोजीमा तर अँध्यारोले मेरो अपहरण गर्यो । मसँग भएका सारा खुसीहरू खोसेर लग्यो । हार गुहार गरेँ, विन्ती चढाएँ, आँशुहरूका वर्षा गराएँ तर सुनेन त्यस निर्दयी नियतिले ।
अझै पनि झलझली नाचिरहेका छन् विगतका दिनहरू चलचित्रझैँ बनेर मेरो मानसपटलमा । म निकै खुसी थिएँ । मेरा सम्पूर्ण इच्छा, आकांक्षाहरू पूरा हुने गर्दथे । मैले चाहेका, मागेका, मनपराएका तमाम चाहना तथा इच्छाहरू पूरा गरिदिनुहुन्थ्यो बाबाले । लाग्थ्यो म निकै भाग्यमानी छु । म आफुलाई सुन्दर फूलसँग तुलना गर्थे । पवित्र, निश्चल र मोहकका साथ प्रत्येक विहानी फूलिरहेकी हुन्थेँ । मेरा वरिपरि डुलिरहेका भँमराहरू देखेर लज्जाको महसुस हुने गर्दथ्यो मलाई । तर म तिनीहरूलाई वास्तै गर्दिन थिएँ । आखिर फूलेको फूलमा भँमरा नआउने पनि त होइन । मलाई वास्तै लाग्दैन थियो तिनीहरूको । फूल फूलिरहुञ्जेल मात्र हो तिनीहरूको समीप । ओइल्याएपछि नामो निशाना रहँदैन तिनीहरूको । विना लज्जा टाढिन्छन् ओइल्याएपछि । अर्को फूलको मोहकले आकर्षित गर्छ तिनीहरूलाई ।
साह्रै विचित्रको थियो एउटा भँमरा । सुन्दर, निष्कलंक अनि प्यारो लाग्थ्यो मलाई त्यो भँमरा । सधैँ मेरो समीपमा बस्न चाहन्थ्यो ऊ । म पनि उसका लागि लालायित हुन्थेँ । अनि अझ ढकमक्क भएर फूल्ने गर्दथेँ । ऊ र म एउटै कलेजमा अध्ययन गर्दथ्यौं । कक्षा–११ को पढाई सकिदैं लाग्दा हामीहरूको भेट भएको थियो । हामी निकै खुसी थियौँ । एकअर्कामा समाहित भएका थियौं । हामीले एकअर्कालाई राम्ररी बुझेका थियौ । दिनदिनै वयस्क हुँदै गएको हाम्रो प्रेमको सुगन्ध चारैतिर फैलिएको थियो । कसैको वास्ता थिएन हामीलाई । हामी आलिंगनमा हराएका हुन्थ्यौ सधैँ–सधैँ । म निकै प्रेम गर्दथे उसलाई । मेरा सम्पूर्ण डर, संकोच र फिक्रीहरूलाई हटाउँदै सपनाको संसार भ्रमण गराउने गर्दथ्यो उसले । मैले भनेकी थिएँ, ‘तौलेर देखाउने यन्त्र भए यो संसारलाई तौलेर देखाउने थिए मेरो माया ।’
तर भँमराकोको भर हुने रैनछ । त्यो उसको सम्मोहन मात्र रैछ लुट्न खोज्ने । समयसँगै हाम्रो सम्बन्धले चरम उत्कर्ष नाघिसकेको थियो । मैले उसलाई सर्वस्व सुम्पिदिएकी थिएँ । शरीर मात्र मेरो थियो आत्मा उसकै थियो । विवाह अघि नै अनेकन सम्बन्धहरू स्थापित भईसकेका थिए हामीहरूबीच । किनकि म उसलाई निकै विश्वास गर्ने गर्दथेँ ।
तर समय कहाँ हाम्रो निर्देशनमा चल्छ र ? समयले नै हाम्रो नियतिलाई पर्दाफास गर्यो । उसको नासो मेरो पेटभित्र दिन प्रतिदिन अङ्कुराउँदै थियो । बाबालाई सबै कुरा थाहा भयो । बाबालाई विवाह गरिदिनुहोस् भने तर उहाँले कदापी मान्नु भएन । उहाँको पारम्परिक संकुचित सोच अनि समाजमा आफ्नो धज्जी उड्ने डर थियो । उहाँले भ्रुण हत्या गर्न दबाब दिनुभयो । मलाई उहाँको संकुचित सोच मन परेन । म पनि शिक्षित नारी हुँ मैले मेरो निर्णय आफैँ लिन सक्छु भन्ने पूर्ण विश्वास थियो ।
बाबालाई एउटा पत्र लेखेर म त्यो जन्जीरबाट सदाको लागि विदा भएँ । मलाई चुनौति स्वीकार छ । अन्ततः मैले आफ्नो सम्पूर्ण जीवन उसैलाई सुम्पिदिएँ सदाको लागि ।
तर पापी समय अझ मेरो अनुकुल ढल्किएन । यो मेरो भ्रम थियो । सायद् आज त्यही अपराधको फल भोग्दै छु क्यार तर मेरो अपराध के थियो ? खुट्याउन सकिरहेकी छुइनँ । यथार्थ मैले सोचेभन्दा ठ्याक्कै अर्को रहेछ । साह्रै नै भयावह रहेछ । मेरो अगाडि सबै एकाएक छर्लङ्ग भएँ एक्कासी । मलाई उसले मात्र फूल सोचेको रैछ । मेरो शरीरलाई मात्र भोग गर्न चाहेको रहेछ । मेरो यौवनलाई लुट्न खोजेको रहेछ ।
मलाई उसले एक मन्दिरमा विवाह गरेर एउटा अनकन्टार ठाउँमा लग्यो । त्यस्तो ठाउँ मैले यसअघि कहिल्यै देखेको थिइनँ । मलाई चुनौती स्वीकार थियो, सम्झौता गर्दै गएँ । अनेक दुःख र समस्या भोग्दै गएँ यसअघि मैले कहिल्यै भोग्नु परेको थिएन ।
जसोतसो गरेर समय बित्दै गयो । मैले यस्तो हुनेछ भनेर कहिल्यै सोचेकी थिइनँ । सोच्नै नसक्ने घटना घट्यो एकदिन । औषधि लिन जान्छु भनेर ठूलो झोलासहित निस्किएको त्यो मान्छे कहिल्यै फर्किएन । कहाँ गयो, कता गयो मैले पत्तै पाउन सकिनँ । चिनेजानेका मान्छे अनि प्रहरीसमक्ष हारगुहार मागे, खोजी दिन आग्रह गरेँ तर कही पनि पत्ता लगाउन सकिनँ । मलाई त्यसको नियत थाहा थियो मैले त्यसलाई रोक्न सकिनँ । मेरो विवशतामा साथ दिने कोही भएनन् । मेरो लाचारीपनालाई मुक्त गर्ने कोही भएनन् । अहँ..कोही भएनन् ।
काखको बच्चा र आफ्नो गर्जो टार्न निकै दुःख सहन गर्नु पर्यो मैले । मेरो बाबा ममीले कहिल्यै खोजी गरेनन् मलाई । सम्भिएर फोन गरेँ तर उनिहरुले मलाई चिन्न इन्कार गरिदिए । कस्तो अचम्म आफ्नै सन्तानलाई पनि नचिन्ने ? सबैजना निर्दयी लाग्यो मलाई । म निर्दयीहरूको हुलमा गुज्रदै गएँ । म दिनानुदिन टुक्रदैँ गएँ । अनायास अनेकन विवशताहरूसँग सम्झौता गर्नुपर्यो मैले । के गर्नु टेक्ने आधार कही नपाएपछि…..?
अहिले म यो कुवेतको भासमा भासिएकी छुँ । मेरा दुईवटै खुट्टामा स्टीलका प्लेटहरू हालिएका छन् । यताउति हिँड्डुल गर्न सक्दिनँ । मलाई थाहा छैन यो निको हुन्छ कि हुन्न ? जसोतसो गरेर आफ्नो अनि छोराको पेट पाल्दै थिएँ मैले । एकजना मान्छेले मेरो दुःख देखेर कुवेत जान सल्लाह दियो । दुईतीन वर्ष मेहनत गरे अवस्था सुध्रिने आश्वासन देखायो । मसँग पैसा थिएन । उसैले काम गरेरै पैसा जम्मा गरी दिँदा हुने बतायो । म भारतीय भूमी भएर छोरालाई आफन्तकोमा केही रकम छोडी यहाँ कुवेतमा आई पुगेँ ।
यहाँ आएपछि पनि मेरा अझ विरहका दिनहरू सकिएनन् । साँच्चै म अभागी नै रहेछु । यहाँ पनि रस चुस्ने भँमराहरू प्रशस्तै रहेछन् । मलाई हरेक कामका लागि बलजफ्ती गरियो । २४ सै घण्टा एउटा रोटीका भरमा काममा जोताइयो । मलाई शारीरिक तथा मानसिक यातना दिईरहे तिनीहरूले प्रत्येक दिन । मलाई प्रत्येक दिन ‘भिखारी देशकी क्षुद्र केटी’ भन्दै सताईरहे । अनायास भोकाएकाहरूलाई तृप्त पार्नु पर्यो मैले । म लाचार बनि सहेरै बसिरहेँ । ‘बुर्का लगाउन लाउने र खोस्ने’ द्वैध चरित्रले मन कुडिँयो मेरो । हार गुहार गरेँ । मेरो समर्थनमा कोही थिएनन् । सबै आँखा भएका अन्धाहरू थिए । मलाई बन्धक बनाइएको थियो । प्रत्येकले भमराझैँ गरी रस चुसिरहेँ ।
एक दिन म अर्को बर्वादीबाट गुज्रिएँ । के भयो के, मैले केही थाहा पाइन । आफूभन्दा गह्रौ भाडा बोकेर सिँढीबाट तल झर्दै थिएँ । तीनदेखि एउटा सुख्खा रोटी बाहेक केही खान दिएका थिएनन् । एक्कासी रिँगटा लागेर सिँढीबाट खस्न पुगे त्यसपछि मलाई केही थाहा भएन । मैले आफूलाई एकैचोटी यो हस्पीटलमा पाएँ । मेरो दुईवटा खुट्टा चलाउन खोजे तर चलेनन् । मलाई के चाहिँ भएको हो मैले पत्तै पाउन सकिन । साहुजीकी श्रीमती एकचोटी देखि भेट्न आएकी छैनन् । लाचार भएकी छु म अहिले । मलाई थाहा छैन मेरो अवस्था अब कस्तो हुनेछ । घरमा ‘आमा कहिले आउँली’ भन्दै छोरा दिन कुर्दै बसिरहेको होला मेरो वियोगमा । म भनेचाहिँ जीवन र मरणको दोसाँधमा लडिरहेकी छु । ‘बाबु ! आफ्नो लागि आफैँ दुःख गर हैँ । मैले तिम्रो लागि दुःख उठाउन चाहे तर सकिन। तिम्रो भविष्य उज्यालो पार्न उज्यालोको खोजीमा हिँडे तर उज्यालोसम्म पुग्नु अभावै मलाई अँध्यारोमा बन्धक बनाइयो । अब त म तिम्रो मुख पनि हेर्न पाउँदिनँ होला !’
