Skip to content

लेखनाथ पौड्याल

जीवन-चङ्गा

  • by

कछुवाले अङ्गसरी खुम्च्याई बाह्य वृत्तिका तार ।
भित्र अलिकति हेर्दा अर्कै रसिलो चमत्कार ।।१।।

दुर्गम भै उर्लेकी तलतिर समतुल्य मोहकी गङ्गा ।
फरफर गर्छ उपर यो जीवनमय पातलो चङ्गा ।।२।।

गौंथलीको चिरबिर (१)

  • by

म बस्ने कोठाकै दलिन-बिचमा गौंथली बस्यो
पिटाएको तन्नाउपर फिर मैला पनि खस्यो ।
मलाई त्यो देखी हृदयबिच लाग्यो किरकिरी
चरी बोल्यो मेरो मन सब बुझी त्यो चिरिबिरी ।।१।।

अहो !! त्यस्ता ताता नजर अति राता विष सरी
तरी तात्यौ बाबा ! किन मनमनै त्यो रिस गरी ।
तिमी धर्मात्मा छौ घरबिच म छू आज अतिथि
तिथी माघे औंसी शहरभर भूकम्प-फजिती ।।२।।

पूर्वस्मृति

  • by

हे मेरो प्रिय बन्धु ! आज तिमिले जो लेखका खातिर
लेख्यौ सा–दर पत्र, त्यो सब पढें केही झुकाई शिर ।
ठेगानातिर हेरदा नयनमा देखा पर्यो ‘पोखरा’
जो देख्दा मनमा मिहीं स्मरणका लाखौं फुटे आँकुरा ।।

पैह्ला अङ्कुरमा हिमाल हँसिलो अग्लो अगाडी सर्यो-
साथै पर्वत-शृङ्खला विपुल त्यो चौतर्फि देखा पर्यो ।
लंबा संथर फाँट तालहरुको झल्क्यो ठुलो चक्चकी
फेरी त्यो गडुवा, विजेपुर खुदी, सेती बगेकी लुकी ।।

पतित-पावनी श्री गङ्गाजीको झाँकी

  • by

ठाडै कैलाशदेखी
    द्रुततर गतिले गड्गडाएर झर्दी
झर्दा श्रीशङ्करैको
    गल-गलित ठुलो सर्पझैं सल्ल पर्दी ।
लाखौं चट्टान चिर्दी
    विकट गिरिशिला-कन्दरा चूर्ण गर्दी ।
बन्दै नाची दगुर्दी,
    श्रवण-विवरमा नित्य संगीत भर्दी ।

साहित्यको फुटबल

  • by

भाषा छ विशाल चौर समा गर्दै ठुलो तर्खर
भै केही फरवार्ड, रेफरि कुनै ब्याकिङ् र गोल्कीपर ।
खेल्दै छौं फुटबल बालक सबै साहित्यको बेसरी
हावा छैन परन्तु भित्र उसमा गुड्दैन केही गरी ।।

नैतिक दृष्टान्त

बडाले जे गर्यो काम हुन्छ त्यो सर्व-संमत ।
छैन शङ्करको नङ्गा, मगन्ते भेष निन्दित ।।

गरदैन ठूलो व्यक्ति मर्यादा-स्थिति-लङ्घन ।
बसेको छ महासिन्धु सीमाबद्ध बनीकन ।।

दबिन्छ गुणिको दोष गुणका राशिमा परी ।
रश्मिले चन्द्रको दाग दबाएकै छ बेसरी ।।

LekhNathPoudyal

वसन्त कोकिल

  • by

भरी लता वृक्ष विषे टनाटन
नवीन लाखौं फूल पालुवाकन ।
वसन्त आयो कलकण्ठको अब
सुनिन्छ साह्रै कल कण्ठ-गौरव ।।

अगाडि जो दीन बनी लुकीकन
बिताउँथ्यो केवल दु:खमा दिन ।
अहो !! उही कोकिल हेर आज यो
प्रमोदले पूर्ण महासुखी भयो ।।

सत्यसन्देश

  • by

कालो मन्दाकिनीको जल, जलनिधिका मोतिको ज्योति कालो
कालो सौदामिनीको चहक सब शरच्चन्द्रको कान्ति कालो ।
कैलाश श्रेणि कालो झलमल गर्ने शु्र्यको बिम्ब कालो
यो सारा सृष्टि कालो मनबिच छ भने दम्भ दुर्भाब कालो ।।

कालमहिमा

  • by

भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो,
इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो,
थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो,
खाता जाँची सबै दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो ।१।