Skip to content


कालो मन्दाकिनीको जल, जलनिधिका मोतिको ज्योति कालो
कालो सौदामिनीको चहक सब शरच्चन्द्रको कान्ति कालो ।
कैलाश श्रेणि कालो झलमल गर्ने शु्र्यको बिम्ब कालो
यो सारा सृष्टि कालो मनबिच छ भने दम्भ दुर्भाब कालो ।।

दोषी माता पिताका बचन गुरुजनादेश नि:शेष दोषी
सत्यात्मा मित्र दोषी गृह परिजनको चाल देखिन्छ दोषी ।
पत्नीको प्रेम दोषी अमृतमय मीठा बेदका वाक्य दोषी
यो सारा सृष्टि दोषी बिधिवश छ भने आफ्नो दृष्टि दोषी ।।

थोत्रो पाटी उज्यालो, मलिन तृणकुटी, कन्दरा झन् उज्यालो
भिक्षा भारी उज्यालो, अझ वन वनको साग सिस्नु उज्यालो ।
फयाङ्लो गुन्द्री उज्यालो, वर पर घुम्दा जीर्ण कन्था उज्यालो
तृष्णाको तृच्छ जालो मनबीच नभए जो मिल्यो सो उज्यालो ।।

भर्दाभर्दै हजारौँ बिषय-सुख-घडा देह लम्तन्न पर्दा
झर्दा सम्पुर्ण सेखी, तुजुक पवनले निस्कने जोड गर्दा्
सर्दा आपस्त डर्दै पर पर धमिलो नाचको अन्त्य पर्दा
गिरदामा साथ जाने कुन-कुन चीज हुन्? सम्झ ती काम गर्दा ।।

जस्तो मानी धनीका नगिच हर घडी तृपत जोडेर हात
छाती खोलेर गर्छौ हृदय बुझि सदा नम्रता साथ बात ।
दु:खीका साथ उस्तै बिनयसित सदा मर्म सम्झेर बोल
गर्नै पर्दैन फेरि ब्रत, जप, तपले स्वर्गको मोल तोल ।।

मत्ता हात्ती हलुङ्गो, बितत जलधिका ह्वेल माछो हलुङ्गो
जङ्गी बेडा हलुङ्गो, विकट कटकटे रेलगाडी हलुङ्गो ।
शैलश्रेणी हलुङ्गो, पृथुतम पृथिवी गोल सारा हलुङ्गो
यो व्रह्माणडै हलुङ्गो, जब सब मनको तिर्सना लाग्छ टुङ्गो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *