Skip to content

सुदर्शन बिक्रम राणा

माया हल्ला भो

मनको ब्यथा मेट्न
दुई घुट्को पिंए
यो ज्यान झल्ला भो ।
जाली फटाहाको
केही चर्चा छैन
मेरो माया हल्ला भो ।
जतातै मेरो माया हल्ला भो ।

सिमसारमा फल्ने
कर्कलो लाई
थांक्रोले बारीन्न ।
दुई मन मिली
गांसेको मायामा
धन दौलत हेरीन्न ।

उर्लि फाल हाल्ने
त्यो खहरे खोला
हिंउदमा बग्दैन ।
पापी दुनियाले
जति बल गरेनी
चोखो माया छुट्दैन ।

ईलामेली ठिटो

केही जान्न यानीमाया
बोली देउन मिठो ।
बचनको पक्का हजुर
ईलामेली ठिटो ।

साँखेजुङको छिर्के भाले
सखारैमा बास्छ ।
प्याङ्गको दीलमाया संग
घरजम् गरौ लाग्छ ।
आकाशको तारा जून
गोदकको फूल ।
ईलामेली ठिटो हजुर
हुने छैन भुल ।

सुनाखरी रुखैभरी
चमैता बनैमा ।
हुन्छ हुन्न गर निधो
नराख मनैमा ।
जिर्मलेको बाँसघारीमा
दुम्सी लुक्ने दुलो ।
ईलामेली ठिटो हजुर
ईमान जमान ठूलो ।

जय नेपाल

मादलको मिठो तालमा
शान्तीको गीत घन्काउंछौ ।
परिआए खुकुरी चम्काई
बैरीको शिर छप्काउंछौ ।
हाम्रो मनमा नेपाल तनमा नेपाल ।
रगतको हर थोपा थोपामा नेपाल ।
जय जय नेपाल जय जय नेपाल ।
जय बीरभूमि नेपाल ।

चन्द्र र सूर्य अंकित
ध्वजा हाम्रो सान हो ।
जननी झैं जन्मभूमि
नेपाल हाम्रो प्राण हो ।
हाम्रो मनमा नेपाल तनमा नेपाल ।
रगतको हर थोपा थोपामा नेपाल ।
जय जय नेपाल जय जय नेपाल ।
जय पुण्यभूमि नेपाल ।

बिश्वमा शान्ती फिंजाउने
बुध्द हाम्रो गौरब हो ।
सर्बोच्च शिखर सगरमाथा
नेपालीको धरोहर हो ।
हाम्रो मनमा नेपाल तनमा नेपाल ।
रगतको हर थोपा थोपामा नेपाल ।
जय जय नेपाल जय जय नेपाल ।

कदापि यो झण्डा नुहिन दिन्न

खोसेर लिन्न मागेर खान्न
कसैको पराधीन सहन्न ।
तातो रगत बग्ने हुँ म नेपाली
कदापि यो झण्डा नुहिन दिन्न ।

जननी जन्मभूमि रहन्छिन
सधैँ आफ्नो स्वार्थभन्दा माथि ।
कायर भै सधैँ मरिरहनु भन्दा
रणमा बीरत्व पाउनु जाति ।
अन्याय सहन्न अत्याचार सहन्न
कसैको पराधीन सहन्न ।
बीरको सन्तति हुँ म नेपाली
कदापि यो झण्डा नुहिन दिन्न ।

नेपाल याद आउंछ

झुल्लुक्क हिमाल देख्दा
नेपालको याद आउंछ
स्वदेशको माटोको सुबासले
मेरो ज्यानमा जोश छाउंछ ।

रारा फेवा सगरमाथा
लाली गुंरास फुलेको
पुण्यभूमी मेरो देश
बुध्द सीता जन्मेको ।
भंज्याङ्ग फांट देख्दा
नेपालको याद आउंछ ।
स्वदेशको माटोको सुबासले
मेरो ज्यानमा जोश छाउंछ ।

हिमाल पहाड मधेश
मेची कर्णाली बगेको
बीरभूमी मेरो देश
भिमसेन बलभद्र जन्मेको ।
मुर्चुङ्गा मादल घन्कदा
नेपाल याद आउंछ ।
स्वदेशको माटोको सुबासले
मेरो ज्यानमा जोश छाउंछ ।