देवकोटासँग एउटा साँझको कायान्तरण
अनायास जन्मिने मान्छे, अनायास हुर्किने मान्छे, अनायास जीवनको यात्रा गर्ने मान्छे यात्रामा अनायासै यो विशृङ्खलित जीवनको साँझ एउटा विशिष्ट लेखकीय साँझमा कायान्तरण भएको छ । दिनमा हृदयङ्कित चित्रमाधुरीसँगै धमिलिँदो साँझमा आफ्ना अनुभूतिहरूको विश्लेषण र अध्ययन गर्ने श्रद्धेय स्रष्टा देवकोटा पहाडी झरनाको सङ्गीतमा मन्मय छन्, यसैले कि उनी अँध्यारो संसारमा पवित्र हृदयगिरिबाट झरेका हजार सुन्दर झरनाको उज्यालो शक्ति र सङ्गीत कल्पिरहेछन् तर व्यर्थै बगिरहेकोमा दुःखित देवकोटा जिन्दगीको मौसम रहँदै आत्मशुद्धिका लागि आफैँभित्र चेतनजल छरिरहेछन् । सम्भवतः उनी हृदयको तानसँगै जीवनका आँसु र हाँसो बजिरहने लयदार स्मृतिको गाढा रङ्गमा गुन्जिरहेछन् सम्भवतः उनी फुल्दो गुलाफ हेर्दै तत्वज्ञान खोजिरहेछन् ।
