Skip to content

अच्यूत प्रसाद सिलवाल

मेरो देश, मेरो आत्मा, मेरो अभिमान

मेरो देश, मेरो आत्मा, मेरो अभिमान
मेरो अरुण र तमोरहरु
मेरो गौरवको गडगडाहड बोकेर
शत्रुका आत्माहरु हल्लाउँछन्
मेरो ईलामका पाखाहरुमा फैलिएका चिया वगान
मेरो छात्तिभित्रको माया, प्रतिविम्वित गर्छ
मेरो कर्णालीको कङ्ल्याङ कुङ्लुङ्
मेरो संघर्ष प्रतिको विश्वास व्यूझाउँदै
विजयको मार्ग दर्शन गर्छ
मेरा पाखाहरुमा फुल्ने लालिगुराँसहरु
मेरो जीवनप्रतिको आकाङ्क्षा बनेर
आत्मा उर्जा संचार गराउँछन्
मेरो चन्द्रसूर्य मेरो हिम चुचुरामा टेकेर
मेरो पुुर्खाको गौरव शंखधोष गर्छ
मेरो कानमा गुन्जिएको – “जननी जन्मभुमिश्च ”
मेरो हृदयको संगित बनेर
मेरो जोशलाई जुरुक जुरुक जुरुक जरुक उचाल्छ

टेकु चपलीको रुख

निक्कै दिनदेखि नियालिरहें
माईक्रो बसका झ्यालबाट
हुरहुरिएको मेसिन अडिन्थेन त्यहाँ
जहाँ तिमी उभिएकी थियौं
म काम बिनाको वेफुर्सद मान्छे
त्यसैले तिमीसँग ननारिए पनि
मुन्टो बटारेर हेर्थे तिम्रो पैताला
देख्थे तिम्रो सेरोफेरो फलामे सिक्रिले धेरिएका
अलि अग्लो रातो सिढिले वेरिएका
र शिरमा चन्द्र—सूर्य गासिएका
अनि म मनमनै गुन्थेँ कि
तिमी टेकु चपली कि रुख हौं

नयाँ भियतनामका गीतहरू

जब गरीबका वस्तीहरूमा डढेलो लगाइन्छ
तब शब्दहिन दुःखीहरू ओकेल्छन आक्रान्त चित्कार
अनि ससंकित अपराधीहरू
बुटले जनताको घाटी थिच्छन
मैना सुनुवारहरू लुटिदै र ढल्दै जान्छन
क्याप्टेन लामाहरू भकभकी पानीमा उसिनिदै जान्छन्
रोदन र क्रन्दन यति तिब्र हुन्छन् कि
बर्बरहरू अँझै चेत गुमाउदै जान्छन्

मेरो प्यारो चितवन

मेरो प्यारो चितवन तिमी झुल्कनै पर्छ तिमीले ।
उज्यालो भो सब तिर लहै उठ्न नै पर्छ तिमीले ।।
सिर् सिर् गर्दै वरपर हवा सल्वलाई रहेछ ।
जागे तिम्रा सखि पनि लहै जाग्न नै पर्छ तिमीले।।
१
नेपालीको मनमुटु भरी मोहनी छोडि सकिछ्यौ
नौलो मान्छे तिर पनि तिमीले नशा छोडि सकिछ्यौ।।
तोरी बारी मगमग फुले, बासना कुद्न थाल्यो।
मीठो माया, वरपर छरी प्रीति जोडी सकिछ्यौ ।

मेरो अर्ती

तेरो बाउ रक्स्याहा थियो र बेहोशमा बलत्कार गर्यो
तर थाहा छैन त्यो को हो र कहाँ छ ?
तेरो आमा सडकमा बाँच्थी र सायद मरी होली
तँलाई मोहोर दिदैँ म भन्छु
जा तेरो बाउ कहाँ छ, खोज समात र कारवाही गर् !

पारिजात

पारिजात
ऊ पारिजात हो
त्यसैले ऊ बसिन, हाँगाहरूमा, बोटमा बिहानसम्म
र हामफाली हतारिएर
झिसमिसे अध्याँरोमा आँखा चिम्लिएर
पातालमा पाईला टेक्न यता
पारिजातका हाँगाहरू फुङ्गछन्।

बादल र झरी

ऊ बादल हो
हज्जारौं माईल पर उसको माईती घर छ
जहाँबाट ऊ तात्तिन्छे, रापिन्छे र उठ्छे
मनसुनी र पश्चिम वायूको झोक्काले उसलाई उडाँउछ ।