Skip to content

खेचबहादुर खड्का

मुनामदन खण्डकाव्यमा पूर्णोपमा र लुप्तोपमा अलङ्कार

महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित ‘मुनामदन’ (१९९२) खण्डकाव्य नेपाली खण्डकाव्य परम्पराको एक समृद्ध काव्यचेत भएको र पर्याप्त लोकप्रसिद्धि पाएको काव्यकृतिका रूपमा चिनिन्छ । काठमाडौंको नेवारी समाजमा प्रचलित लोक आख्यान “जी वया ल लछी मडुनी” को आख्यानलाई मूल आधार बनाएर यस काव्यको रचना गरिएको उक्त नेवारी आख्यानबाट स्पष्टिन्छ । यो कुरालाई “प्रसिद्ध विषयवस्तुमा मौलिक कल्पनाको समेत मिश्रण गरेर त्यसलाई लोकलयमा बाँधी व्यक्त गर्ने आख्यानकला” (अवस्थी, २०६४:७७) भन्ने भनाइले पनि पुष्टि गर्दछ । ‘मुनामदन’लाई नेपाली खण्डकाव्यको परम्परामा स्वच्छन्दतावादलाई आमन्त्रण गर्ने पहिलो खण्डकाव्यको ऐतिहासिक श्रेय पनि प्राप्त छ ।