Skip to content

यल्जी विवश

जून बनी …

जून बनी आउदिँन म, रातमा नखोज्नु !
शीत भई छाउदिँन म, पातमा नखोज्नु !!
मेरो आत्मा जलाएर, खरानी पार्यौ जब,
केही छैन बाँकी मसानघाटमा नखोज्नु !!!

©यल्जी विवश/अप्रिल-१५
२०१६

तीन हाइकु(भीरको मह)

(एक)
——-
भिरको मह
स्मार्ट जेनेरेसन
सुनामी बेग !
————–
(दुई)
——
कवाडी मूल्य
बेच्दैछु आफैलाई
जीवन किन्न !
—————
(तीन)
——-
चिप्लियो घाम
अँध्यारो जङ्गलमा
जन्मिन्छ फेरि !
——————

मुटु चिरिदिऊँ लाग्छ…/गजल

मुटु चिरि-दिउँ लाग्छ, तिम्रो वियोगमा
अलिकति पिउँ लाग्छ, तिम्रो वियोगमा !
***
हजार जन्म सँगै बाँचौ,भन्ने गर्थ्यौ तिमी
एक्लै अब जिउँ लाग्छ,तिम्रो बियोगमा !
***
तिमीबिना च्यातिएको टुक्रा-टुक्रा मुटु
समेटेरै सिउँ लाग्छ, तिम्रो वियोगमा !
***
खोला, सागर, ताल सबै सुके झै लाग्छ
भैं आँसु भरिउँ लाग्छ, तिम्रो वियोगमा !
***
गमलामा सजिएको फूल देख्दा पनि
उखेलेरै लिउँ लाग्छ, तिम्रो वियोगमा !!
******************************

नयाँ बर्ष (जब आरुका फूलहरु…)

जब आरुका फूलहरु
नयाँ आशा र उमङ्ग लिएर
मुस्कुराउँछन-बारीका डिलहरुमा !

जब शिशिरले
करङ्ग निस्किएका गिरिहरु
भरिन्छन-बशन्ती रङ्गहरुले,
अनि जब त्यहीँ हाँस्छ-एकमुठि हाँसो
सम्भावित
उज्यालो भबिश्यको स्वप्नमा-लालिगुराँश !

जब एकछिनलाई चल्छ-मन्द पवन,
अनि टरेर जान्छ
आँधी,तुफान र बादल-समस्याको
क्षितिजचुम्बी भिरबाट !

जब हाक्पारे,सालैज्यू र पालमको लयमा
गाउँन थाल्छे कोइलीले-हाम्रो पिरती ,
अनि जब हाम्रै
मारुनी, सेलो र चन्डिको तालमा
नाँच्छन-डाँफे,मुनाल र मयूरहरु !

जब भित्तेपात्रो झै
अनयासै फेरिन्छ-
घाउको एक पत्र !

तब
फेरि शुरु हुन्छ-
एक नौलो र बेग्लै अध्याय