Skip to content

डीबी जिरेल रवि

PicsArt_10-30-06

गजल

आँखामा पट्टी, बत्ती निभाएको छ
बाटो देखाउनेले यस्तै सिकाएको छ

बैरी लगलग काम्ने त्यो समय थियो
खुकुरीको सान आज गिराएको छ

कालो पोसाकमा हिँड्ने उ को हो
साँचो न्याय कौडीमा फिजाएको छ

न बोल्न सक्छ उ, न लड्न सक्छ
जनताले नेता यस्तै जिताएको छ

कसले कति चुस्ने, कति पचाउने हो
देश विकास ठेक्कामा भिडाएको छ

हामी सुनौलो देशको सपना देख्छौँ
धमिराको गुँडमा देश बिसाएको छ
**********
डीबी जिरेल ‘रवि’

PicsArt_10-30-06

धितो छ यो सहरमा

सबैको जिन्दगी धितो छ यो सहरमा
त्यसैले त मान्छे चिसो छ यो सहरमा

सरकार सभा, समारोहमा झुल्कन्छ
अरु छोड, गफ मिठो छ यो सहरमा

सबै देखिन्छ हँसिलो तर को जान्दछ
सबैको आँखा गिलो छ यो सहरमा

बल, बुद्दी र शिप बिक्छ, अरु के
उही देह ब्यापार दिगो छ यो सहरमा

त्यसै गिद्ध बढेको होइन यति धेरै
ज्युँदो मान्छेको सिनो छ यो सहरमा

गोरुहरू छन र दाइँ छ ढुकुटीको
न सही खला न मियो छ यो सहरमा
*****जिरी

के हो

लम्बाइ के हो र चौडाइ के हो
चोखो पिरतीको गहिराइ के हो

जे थियो मुटु थियो प्रेम रोगीको
सर्वस्व गुम्यो रे, सुनवाइ के हो

पोखाएर नसक्ने, भनेर नघट्ने
अन्तरमा धेरै दुख्ने दुखाइ के हो

सौन्दर्यको बली चढ्छन् शेरहरू
गाइ माग्ने गजलको सच्चाइ के हो

आगो बल्न घर्षण होस र पो हुन्छ
खोल नभए अकेला सलाइ के हो

आशैआशामा जीवन बिताउनेको
गुमाएको यौवनको भरपाइ के हो

जूनसँग भेटेदेखि बिरामी छ “रवि”
निको हुने पर्खाइ छ दबाइ के हो
********
जिरी

राज भालुको छ

गजल
थाहा पाउँदै छु, जमाना चालुको छ
शिँहहरू ढले, यहाँ राज भालुको छ

डाँडा बसी भन्थे कालु, भालु आयो
कालुहरू रुख चढे, मोज लालुको छ

हात्ती आयो, हात्ती आयो भरे फुस्स
पहुँच सँधै ढुकुटीमा ठुलाठालुको छ

राम्रा होइन, हाम्रा चाहिने, मुलुकमा
सफेदको होइन माग सिपालुको छ
*****
जिरी