ढोयो
बिर्खबहादुर लामिछानेलाई सबैले चिन्दछन् गाउँभरि नै । उसकी आमा मरेपछि बाबुले अर्की आमा अर्थात् सौतेनी आमा भित्र्याएपछि बिर्खेलाई छुट्टिएर गरिखाओस् भन्ने बिर्खेका बाबुको इच्छा छ। बिर्खेकी आमापट्टिबाट बिर्खेका दुइटी दिदीहरू पनि छन्, जो विवाह भैसकेर आआफ्नै घर गरेर बसेका छन्। बिर्खेका बाबुको आर्थिक अवस्था कमजोर छ। एउटा सानो घरबारी, एउटा खोल्याङ खेत, एउटा ब्याउन लागेको थोरे भैँसी, दुइटा बाख्रा, एक हल गोरु भएको सामान्य किसान हो पाखाघरे अन्तरे – जो बिर्खेको बाउ हो।
